Featured Photos
Recent News

सीमांकनपछि प्रादेशिक राजधानीमा हानाथाप

काठमाडौं/सिमाकंनपछि प्रदेशका राजधानीहरूमा समेत जटिल स्थिती आउने देखिएको छ । प्रदेशको राजधानी आफनो क्षेत्रमा हुनुपर्ने अडानले अहिले नै यो विषयले पार्टी भित्र तथा बाहिर नै मतभेद पोखिन थालेको छ । यसले गर्दा राजनीतिक रुपमा यो विषयलाई सुल्झाउन निकै समस्या आउन सक्ने अनुमान सर्वसाधरणको छ ।
 एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नै नयाँ पार्टी कार्यालयमा पहिलो पत्रकार सम्मेलन गर्दै अब प्रादेशिक राजधानीका लागि मारामार हुने संकेत गरे ।
सीमांकनको भाउँतोबाट उम्किन नपाउँदै प्रादेशिक राजधानीको खिचातानीले दलका नेता कार्यकर्ता केन्द्रबाट क्षेत्र हुँदै जिल्लाको स्वार्थमा झर्न सक्ने भन्दै उनले यो भाउँतोमा नलाग्न एमाले पंक्तिलाई कडा निर्देशन दिए ओलीले । प्रादेशिक राजधानी र प्रदेशको नामको टुंगो लाउने जिम्मा सम्बन्धित प्रदेश सभासलाई नै दिने भद्र सहमति दलहरूबीच भइसकेको छ । तर, पनि ती दलका नेता कार्यकर्ता आ–आफ्नो पायक पर्ने ठाउँमा प्रादेशिक केन्द्र पार्न शक्ति सञ्चय गर्न थालिसकेका छन् ।
बिभिन्न भेगमा सीमांकन विरुद्ध उठेको आक्रोश र आन्दोलनका कारण कतिपय जिल्लाहरूको सीमांकन तलमाथि हुने नेताहरूले बताइसकेका छन् । तर, ठूलै परिमार्जन भने नहुने निश्चित छ ।
प्रादेशिक राजधानीका लागि कतिपय ठाउँमा आन्दोलन चलिसकेको छ भने कतिपय ठाउँका प्रभावशाली नेताहरूले भित्रभित्रै मिलाउँदैछन् । सुर्खेतको हिंसात्मक आन्दोलन प्रादेशिक राजधानीको लागि हो भन्ने बुझ्न गाह्रो छैन । संघीय प्रदेशको राजधानी हुनु भनेको त्यस क्षेत्रका विकास, सम्बृद्धि र बन्द ब्यापारमा ठूलो फड्को मार्नु हो । त्यसैले यो मौका गुमाउन कोही पनि चाहँदैनन् ।
प्रदेशको राजधानीका लागि आन्दोलित भएका, मानसिक रुपमा तयार भएका र पूर्वाधार तथा पायकको हिसाबले उपयुक्त स्थानहरू कुन–कुन हुन सक्छन्  त ? यो जिज्ञासामा एक अनलाइन अखवारले गरेको सर्वेक्षण यस्तो रहेको छ  ।
इटहरी, धनकुटा वा बिराटनगर ?
प्रदेश नम्बर १ को राजधानीका लागि इटहरी र धनकुटा जुर्मुराइ सकेका छन् । हाल पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेका कारण धनकुटाको दाबी जति बलियो छ, सोलु ओखलढुंगादेखि ताप्लेजुङ सम्मका मान्छेको पायकका हिसाबले इटहरी उत्तिकै जायज छ ।
बिराटनगर र झापाले प्रादेशिक राजधानीका लागि कुनै लबिङ गरेको छैनन् । तर झापामा पनि राजधानी वन्न सक्ने प्रशस्त पूर्वाधार रहेका कारण दमक पनि यसका लागी उपयुक्त क्षेत्र भएको मान्न सकिन्छ । सवै जातजातिको सघन बसोवास र सुगमताका हिसावले प्रदेश नम्बर १ को राजधानी दमक नगर पनि एउटा उत्तिकै संभावना बोकेको क्षेत्र हो भनेर विश्लेषण गरिन थालिएको छ । एमाले अध्यक्ष केपी ओली यही क्षेत्रका भएकाले  दमकलाई प्रादेशिक राजधानी वनाउन जोड दिने हुन की भन्ने अड्कल गर्न सकिन्छ ।
जनकपुर, वीरगञ्ज वा अन्तै ?
प्रदेश नम्बर २ को राजधानीका लागि जनकपुरको नाम निर्विवाद जस्तो देखिन्छ । तर, देशको व्यापारिक राजधानी वीरगन्ज र वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल तथा सप्तरीदेखि पर्साको बीचमा पर्ने हुनाले निजगढ चन्द्रनिगाहपुर क्षेत्र पनि भित्रभित्रै जुर्मुराउँदैछ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला भएका कारण पनि रौतहट आसपासको क्षेत्रले प्रादेशिक राजधानीका लागि लबिङ बलियो बनाउन सक्छ ।
चितवन, काठमाडौं वा हेटौडा ?
प्रदेश नम्बर ३ को राजधानीका लागि चितवनले प्रचण्डको बल प्रयोग गर्न सक्छ । त्यसो त चितवनले सुशील कोइरालामात्रै होइन एमाले नेता सुरेन्द्र पाण्डेको शक्ति पनि प्रयोग गर्दैछ ।
तर, मुलुकका राजधानी काठमाडौं रामेछापदेखि रसुवासम्म, मकवानपुरदेखि सिन्धुलीसम्मका जनताका लागि पायक पर्ने ठाउँका रुपमा रहेकाले सम्भवतः काठमाडौं सर्वस्वीकार्य हुन सक्छ ।
दावीकै लागि त हेटौंडा र बनेपाले पनि गर्न सक्छन् । तर, देशको राजधानी सम्मिलित प्रदेशको प्रादेशिक केन्द्र काठमाडौंमै हुन सक्ने बढी सम्भावना छ ।
 पोखरा निर्विवाद
प्रादेशिक राजधानीमा कुनै विवादै नहुने सम्भवतः ४ नम्बर प्रदेश हुनेछ । चार नम्बर प्रदेशको राजधानी पर्यटकीय शहर पोखरा हुनेमा लगभग त्यस क्षेत्रका सबै जिल्लाका जनता लगभग सहमत देखिन्छन् ।         दाङ, बुटवल वा नेपालगञ्ज ?
प्रादेशिक राजधानीका लागि सबैभन्दा विवाद, तनाव र तानातान ५ नम्बर प्रदेशमा हुनेछ र भइरहेको छ । ५ नम्बर प्रदेशको राजधानीका लागि दाङ, बुटवल र नेपालगञ्ज प्रवल दाबेदार हुन् ।
नेपाल एकीकरण लगत्तैदेखि पश्चिमको गौंडाका रुपमा रहेको पाल्पा पनि प्रादेशिक राजधानीको दावेदार हो । राणा शासनको पालासम्म पाल्पामा बडा हाकिम बसेर त्यस क्षेत्रमा शासन गर्थे ।
प्रदेश नम्बर ६ को राजधानीका लागि धेरै ठूलो विवाद छैन । किनकि अखण्ड सुदूर पश्चिम कि खण्डित सुदूरपश्चिम भन्ने विवाद निकै पेचिलो बन्दैछ । कैलाली ६ नम्बर प्रदेशमै रहिरहेमा धनगढी प्रादेशिक राजधानीको दाबेदार हो ।
तर, सुर्खेतलाई ६ नम्बरमै राखियो भने उसले पनि प्रादेशिक राजधानीको दाबी गर्ने अहिले त्यहाँ चर्किएको आन्दोलनले नै संकेत गरिसकेको छ । अखण्ड मध्यपश्चिम मागेर आन्दोलित सुर्खेतको दावी पनि अन्ततः ६ नम्बर प्रदेशको राजधानी हुन पाउनुपर्ने नै हो ।
यसबाहेक हाल क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल पनि ६ नम्बरको प्रादेशिक राजधानीको अर्काे दावेदार हो ।

झगडाको सम्भावना
प्रदेशहरूको सीमांकनले जसरी जिल्ला, अञ्चल, क्षेत्र, जात र भेगका नाममा अहिले आन्दोलन भइरहेका छन्, भोलि प्रादेशिक राजधानीका नाममा यो भन्दा तल्लो तहमा गएर जनता बिभाजित हुने सम्भावना छ । त्यसैले एमाले अध्यक्ष केपी ओलीले ठीकै भने,अहिले देश संघीय प्रदेशहरूमा जाने भएपछि नेपालको राजधानी काठमाडौं हुने भन्दा बाहेक अरु सबै ठाउँको नाउँमा विवाद छ । सबैलाई मान्य हुने समाधान कसैसँग छैन । सबैले आफ्नो भौगोलिक र राजनीतिक पायक मात्र हेरेका छन्

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives