Featured Photos
Recent News

संघीयताभित्रको कुरूक्षेत्र, रथका सारथी अन्धा

टंक पाठक
 संघीयता अहिले आएर भालुको कान भएको छ । यसलाई हल्का र बतासे शैलीमा कलात्मक ढङ्गबाट उत्तार्ने चित्रकारहरुको कलाको करामतले हो । संघीयता शासन प्रणालीको स्वरुप र कानुनी दस्तावेज हुनुको अलवा कुरुक्षेत्र निम्त्याउने दस्तावेजतिर लाग्नु अर्को कारण हो । जनयुद्धताका लामो समय पिल्सिएका नेपालवीका मनमा संघीयताको कारण डर, त्रास र भयले शारीरिक, मानसिक र मनोवैज्ञानिक पीडाले यसबेला कष्टकर तुल्याएको छ । त्यसबेलाको सशस्त्र विद्रोहको रगत नसुक्दै थप रगतको आहाल जम्न थालेको छ । जब शान्ति प्रक्रिया आरम्भ भयो । त्यसपछि मुलुकले उन्नति, आर्थिक वृद्धि स्थायित्व र शान्तिको मार्ग अवलम्बन हुने आशामा नेपालीले मात्रै होइन, विश्वलार्य लागेको थियो । जब त्यस जनयुद्धमा करिब १६ हजार भन्दा बढीको ज्यान लिएका विद्रोहीको डफेदारहरु आतङ्क हिंसाबाट राज्य एकलौटी पार्न नसकिने भन्ने लागेर शान्ति र लोकतान्त्रिक प्रक्रियामा आतुर भई प्रवेश गरेका थिए । जब शान्ति, सम्झौता भयो, सबैको उद्देश्य यो मुलुकको लागि एउटै थियो, त्यो कानुनी राज्य शान्ति र संविधान । तर यो दश वर्षसम्म एमाआवादी लगायत सबै दल वृहत शान्ति सम्झौतालाई कोरा कागज ठानी त्यसबाट बाहिरिएर यहाँसम्म आउनु टिकापुर लगायत देशभित्र कुरूक्षेत्र स्थापना गर्नु संघीयता भालुको कान समातेको जस्तो हुनु हो । यो यतिबेला आएको समस्या पक्कै होइन । यो उपज समस्या नितान्त तिनीहरुकै कर्मकाण्ड हो । जुनबेला विध्वंश भयो, त्यसबेलादेखि विध्वंशलाई विरताको गीत गाउने, अशान्ति, दमन र तोडफोडलाई आफ्ना संस्कृतिरुपी अनुभव ठान्ने, सत्य र साँचो देशको निम्ति सही सल्लाह र सुझावलाई सुन्न नसकी आफूहरु राजनीतिको उपल्लो तहको सर्टिफिकेटको बडाप्पन देखाउने प्रवृत्तिले लोकतन्त्रको राजनीतिको उपहास गर्नु मात्रै होइन, देशलाई नै मृत्युशैय्यामा धकेल्ने खेल हो ।
आजका अप्रिय घटना, साम्प्रदायिक युद्ध, मधेशी, पहाडी, थारु, लिम्बू, बाहुन, क्षेत्री लगायत जातजातिलाई खललको अवस्थामा रुपान्तरित कलङ्कको बिजारोपणको खेतीमा मलजल गर्नु वस्तुनिष्ट आपराधिक सोचको बिजारोपण नै भएर हो । संघीयताको न्वारान गर्ने बित्तिकै टिकापुर घटना होस् या मुलुकका विकसित घटनाहरु हुन्, त्यसलाई एकछिन र आजको भुल कदाचित होइन । फेरि यस्ता घटना अब दोहोरिँदैनन् भन्नु पनि भुल हुनेछ ।
जुनबेला अन्तरिम संविधानमा गणतन्त्र र संघीयता उल्लेख गरेको थियो । त्यसबेलादेखि नै यस विषयमा ती रथ हाँक्ने सारथी र नेपाली जनतालाई समेत थाहा थियो । तर ती सारथीहरु आफ्नो अनुहार बदल्न नचाहने र अरुलाई बदल्ने सिकाईको उपलब्धीविहीन भएर संविधान र संघीयता प्रशव व्यथा लागि अहिले अस्पतालमा छ । दोष प्रमुख नेताको मात्र छैन, तिनीहरुको अगौटे पछौटे लागेका ती लावालस्करको दल र उपनेतामा यिनीहरुको चकिलो छायाँ परेको छ । त्यही छायाँले सरकारलाई ग्रस्त बनाएको छ । जब राष्ट्रिय सारथी या नेता राष्ट्र र राष्ट्रियताको चिन्तनबाट अलग्गिँदै झिना मसिना प्वाल र सीमित मान्छेको घेराभित्र पसेपछि देश अहिले यस्तो हालत भएको हो । यसका उदाहरण प्रशस्तै छन् । जस्तै गृहमन्त्री, प्रधानमन्त्री, सुरक्षा निकायका पदाधिकारी, जिल्ला सरकारका प्रमुख बीच औचित्य र आधारहीन बोल्ने कुराको विकास । बाबुराम भट्टराई जस्ता एक पटक प्रधानमन्त्री भएका व्यक्ति र हाल संवाद समितिका संयोजक रहेका व्यक्तिले भित्र एउटा कुरा गर्नु बाहिर सारालाई उकास्ने र लडाई लाउने काम गर्नु संवाद समितिको मान्छे नभई बदनाम समितिको सभापतिको बिल्ला भिर्नु । प्रचण्डजी जस्ता यो देशका अग्रपंक्तिका नेताले निहत्या टेकनारायण जस्ता २ वर्षे बालक गोली लागि मृत्यु हुँदा र अमानवीय क्रुरतापूर्ण ढङ्गबाट भाला, बञ्चरोले हानेर अञ्चल प्रहरी कमाण्डर लगायत प्रहरीमाथि उद्दण्डसाथ मृत्यु गराउँदा यसलाई सामान्य घटना हो भने पन्छिनु ? न त त्यो दोहोरो भिडन्त थियो, यसलाई धज्जी उडाउनु ।
कांग्रेसका अम्लेशकुमार जस्ताले काट्ने, मार्ने, लखेट्ने कुराको पण्डित्याई गरी अप्रिय घटना घटाउनु र त्यस्तालाई कांग्रेसले त्यस्ता मानवताको दया शून्य दैत्य भएकालाई जोगाएर राख्नु अर्को उदाहरण हो । अर्को उदाहरण भन्ने हो भने विगतको संविधान सभामा आफूह हार्दा भारतले हारेको भन्ने क्षेत्रभित्रका नेपाल र नेपालीको नाम सुन्न नमान्ने र मधेशीहरुको वकिलहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवहरु र तिनका छायाँमा परेका पार्टीहरु मान्छेको मूल्य ५० लाख तोकी हात–हतियार, भाला, लाठी लिएर पहाडबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई लखेट्न छाडा छोड्नु र तिनीहरुले देशप्रति धावा बोल्दा राज्य मुकदर्शक हुनु त्यही मौलाएको संस्कृति नै हो ।
संविधानको आवश्यकता छ । यो निस्कन पनि आटेको होला । तर विकृतिरुपी राज्यको संस्कृतिले गर्भदेखि नै यसलाई मलजल गर्दै राष्ट्रको पेटमा हुर्किँदैछ । अहिले महिना काटिसकेको छ । समयमा यसको जन्म हुन सकेन । अहिले प्रशवको व्यथाले अस्पतालमा भर्ना गरेको छ । अब राम्रोसँग जन्म हुने कि नहुने हो, शङ्कै छ । जन्मिहाले अपाङ्ग जन्मिने हो कि सपाङ्ग । वा जन्मिने बित्तिकै शिशुमा नै कुपोषणले मृत्यु हुने हो कि त्यो प्रशव व्यथा देख्दा । यो सबै संविधानको गर्भ व्यथा लम्बिनु जस्तो बिउ रोप्यो त्यस्तै फल पाक्नु हो । अब सबै दल र सारथीले आफ्ना निजी स्वार्थ र राष्ट्रलाई निकास दिने दिन आएको छ । यसमा फेरि तिमीहरु चुक्यौ भने देश कुरूक्षेत्रमय हुनेछ ।
स्मरण रहोस्, यिनै नेता आफू सत्तामा जानका लागि भारतसँग थालीमा फूलमाला लिई जाने र दण्डवत गर्ने प्रवृत्तिले पनि भारतको हेपाई खानु परेको र मधेशीहरु दरिलो भएका छन् । भारतमा बिसौँ मान्छे सेना र प्रहरीले मार्दा हाँसेर बस्ने मोदीजी नेपालमा सुरक्षा दिन्छु भन्दै अघि सर्नुलाई बेलैमा बुझ्न प्रयास नगर्ने, त्यही प्रवृत्ति दोहो¥याउँदै छिद्रामा प्रवेश गर्ने र विदेशी सेवा केन्द्रमा आश्रित हुने हो भने र राष्ट्र बचाउन सच्चा नेपाली नहुने हो भने लोकतन्त्र पनि चाहिँदैन, संघीयता अफाप हुन्छ । दूरदृष्टिको खाँचो छ । कुरूक्षेत्र पनि नबनोस् । अन्धाहरुले आँखा तुरुन्तै खोल ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives