Featured Photos
Recent News

सिंचाई पुगेपछि चुलाचुलीबासीहरु खुसी

चुलाचुली/ दक्षिणी इलामको चुलाचुली गाविसमा सिचाईका लागी नहर निर्माण भएपछि ती क्षेत्रका कृषकहरुमा खुसीछाएको छ । आठ बर्षपछि नहरमा पानी बग्न थालेपछि यसवेला यहाँका कृषकहरुमा खुसीयाली छाएको हो । चुलाचुली वडा नम्बर ३ र ४ मा पूर्वाञ्चल सिंचाई विकास डिभिजन नम्बर १ झापाले ठूलोचाजो खोला सिंचाई योजना पूरा भएको हो ।
सुख्खा र बलौटे माटो भएको चुलाचुलीमा अन्नवाली उब्जाउनु ठूलै पराक्रम हुन्थ्यो । तर, नहरमा पानीबाट अन्नवाली लगाउन पाउँदा गाउँलेमा खुसियाली आएको हो । ‘हामी हर्षित छौ’ स्थानीय रणबहादुर लिम्बूले भने ‘यो नसोचेका काम भयो ।’
सिमल तरुल र काँसघारी हुने ठाउँमा अन्नवाली लगाउन पाउँदा गाउँले खुसी भएका हुन् । सिंचाई कार्यालयले साउन १६ गतेबाट नहरमा पानी छाडेको छ । सागसब्जीदेखि अन्नवालीसम्म किनेर खानु पर्ने गाउँमा कृषकले अन्नवाली लगाउन पाउने भएका छन् । नहरबाट चुलाचुलीका ७३ घरधुरीका ३ सय ५५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
आर्थिक बर्ष २०६२।०६३ मा ५ करोड ५९ लाख १ हजार ठेक्का लागेको थियो । तर, ठेकेदारले ३० प्रतिशत कम मूल्यमा ठेक्का लिँदा ठेकेदार अधूरो काम छाडेर हिँडे । तर, डिभीजन प्रमुख कुञ्जनभक्त श्रेष्ठ लगायतको टिमले काम नगर्ने कम्पनीका ठेकेदारलाई हटाएर गजुरमुखी÷थेवे जेभीका ठेकेदारलाई काम सम्पन्न गर्ने सर्तमा पुनः नहर निर्माण कार्यलाई निरन्तरता दिएपछि निर्माण कार्य सम्पन्न भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष गंगा चापागाईले नहर निर्माण गर्दा प्राकृतिक तथा भौगोलिक दृष्टिकोणले निकै चुनौती खेप्नु परेको बताए । उनले वडा नम्बर ३ र ४ को साढे ६ किलोमिटर मूल नहर र १ हजार ७ सय मिटरको शाखा नहरमा पानी बग्न थालेको बताए । उनले स्थानीय कृषकलाई मौसमी तथा बेमौसमी तरकारी खेती र अन्नबालीका लागि प्रोत्साहन गरिने बताए । झापाको मुख्य बजार नजिकै रहेकाले मौसम अनुसारको खेतीबाट राम्रो उत्पादन र मूल्य लिन सकिने अध्यक्ष चापागाँईले बिश्वास व्यक्त गरे । डिभीजन प्रमुख कुञ्जनभक्त श्रेष्ठले २ सय हेक्टर जमिनमा पानी बगाउन  ठेकेदारको कमजोरीले ८ बर्ष लागेको बताउँदै भौगोलिक वनावट पनि केही फरक हुनु र पहिरोका कारण निर्माण कार्यमा समस्या उत्पन्न भएको बताए । उनले भने ‘केही ढिलाई भएको पक्कै हो ।’
डिभीजन प्रमुख श्रेष्ठका अनुसार ५ करोड ५९ लाख १ हजार मध्ये नहर निर्माणमा हाल सम्म ५ करोड १९ लाख ५१ हजार ८ सय ५४ खर्च भइसकेको छ । जसबाट मुहान निर्माण, बालुवा पोखरी निर्माण, स्कयप, मूल नहरको मुहानदेखि पोखरी कुलोको विभिन्न स्थानमा एक्यूडक्ट, फुटब्रिट, सुपरप्यासेज लगायतको काम भएको छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives