Featured Photos
Recent News

राजनीतिमा संयम र सद्भावको खाँचो

ओमप्रकाश गौतम
शान्तिको देश नेपाल । गौतम बुद्ध जन्मेको देश नेपाल । प्राकृतिक सम्पदा र जलस्रोतमा बाज्रिलपछिको दोस्रो देश नेपाल । विविधतामा एकता भएको देश नेपाल । विभिन्न जाति तथा जनजातिहरुको बाहुल्यता भएको देश नेपाल । वीर योद्धा र लडाकुहरुको देश नेपाल । यस्ता अनेकन विविध कार्यले गर्दा हाम्रो देश संसारमा भएका अन्य देश भन्दा एउटा छुट्टै पहिचान बोकेको राष्ट्र हो हाम्रो नेपाल । हाम्रो देश नेपाललाई कुनै पनि राष्ट्रले औंला ठड्याउन सक्दैन, यहाँ राजनीति, सामाजिक, धार्मिक, सांस्कृतिक लगायतका अन्य विविध क्षेत्रमा साहसिक रुपमा योगदान दिने सयौं विर पुरुषहरुको इतिहास छ । चाहे ती ब्राह्मण हुन्, क्षेत्री हुन्, जाति–जनजातिका हुन् । मुस्लिम, थारु आदि बासी जो–जो हुन्, उनीहरुको छुट्टै पहिचान छ । यही भएरै होला, नेपाल एक सार्वभौमसत्ता सम्पन्न एउटा राष्ट्र हो । यही माटोमा सयौँभन्दा बढी फूलहरु फुलेका छन् । आ–आफ्नै भेषभुषा, भाषा, संस्कृति, रीतिरिवाज, परम्परा छ, सदियौँ वर्षदेखि चलिआएको आ–आफ्नो परम्परा विश्वमै पृथक किसिमको छ । आफ्नो देशको अस्तित्व रक्षाका लागि कुनै पनि राष्ट्रले गिद्धे दृष्टिले हेरे, आफ्नो विर पुरुषार्थी देखाउने हाम्रा विर योद्धाहरु विगतका दिनमा पनि बहादुरी देखाउन सफल भए । आज पनि ती विर योद्धाहरु आवश्यक परेमा ज्यान दिन तयार छन् तर आफ्नो देशको माटो अर्को देशलाई सुम्पिनु शत्रुहरुसँग सम्झौता भने गर्न जान्दैनन् । त्यसैले हामी नेपाली गोर्खालीका सन्तान हौँ र हामी यो गर्व गर्छौं कि हाम्रा नेताले हाम्रो मार्गलाई बेवास्ता गरी कुनै पनि सम्झौता गरे भने हामी ती सम्झौताका दस्तावेजहरुलाई खारेज गर्न कहिल्यै पनि पछि हट्दैनौँ ।
अहिले यिनै वाचा र कसम खाएर आम नेपाली पुरानो राज्यसत्ताको समूल नष्ट गर्न एकजुट भएका छौं । यसैले गर्दा पुरानो राज्यसत्ता ढल्यो । हजारौँ–हजार नेपालीले विरगति प्राप्त गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि तमाम नेपाली जुटिरहेका छौँ र जुटिरहनेछौँ । यिनै नेपाली जनताले राणा शासन ढाले, एकतन्त्रीय राज्य व्यवस्था ढाले, राजतन्त्रको समूल नष्ट गरेर देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । हामी यसैमा गर्व गर्छाैं कि देश अहिले संविधान निर्माणको मोडमा छ ।
महिला, दलित, जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक, सीमान्तकृत र पिछसिडका वर्गसहित सबै नेपालीको धर्म, संस्कृति पहिचानको स्वतन्त्र ढङ्गले संरक्षण गर्ने गर्ने ढङ्गले संरक्षण गर्ने गरी अधिकार सुम्पने दायित्व अब बन्ने संविधानको हो । देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बेला अहिले जनताले केवल एकथान संविधान मात्रै नभई सबैखाले समस्या र अप्ठ्याराबाट पार लगाउन क्षमता राख्ने संविधान आम नेपालीले चाहेका छन् । तर अहिलेको राजनीति परिवेश हेर्ने हो भने यो अपैक्षा पूरा हुने सम्भावना छैन । हिजो भोट बैँकका रुपमा आफैले उठान गरेका मुख्य एजेण्डा स्वयम् उनीहरुले नै लत्याउँदैछन् । यसमा कोही पनि अछुतो नरहँदा हुन्छ । आफूले विगतमा उठाएका विविध विषयका मुद्दाले सत्ता सञ्चालन गर्दा पाएको खुसियालीमा कति रकम कुम्ल्याउन पाइयो र देशकै धनी वर्गमा रुपान्तरित हुन पुगियो भनेर सम्पूर्ण ठूला या साना दलहरुले सोच विचार गरे हुन्छ । एकले अर्काको आँखामा धुलो हान्ने प्रवृत्ति सबै दलहरुले त्यागे हुन्छ, अब । हिजो तपाईहरुले उठाएका गम्भीर प्रकृतिका मुद्दा अहिले क्रमशः निषेधाज्ञामा रुपान्तरित भएका छन् ।
आन्दोलनका उपलब्धी संस्थागत गर्ने क्रममा देखिएका पुरानो यथार्थता र वर्तमान परिस्थितिको स्वरुप हेर्दा देश अहिले विषम परिधिको गोलचक्रमा फसिरहेको छ । अलिहे यही गोलचक्रमा फसेको एउटा मननीय र हृदय विदारक घटना गत सोमबार कैलालीको टिकापुर घटनामा विभत्सपूर्ण घटनामा रुपान्तरण भयो, जुन घटना मानवीय घटनामा आधारित छैन । यो घटना महान् नेपाली दाजुभाइहरुको हृदयभित्र कहिल्यै नबिर्सने गरी भावविह्वल भइरहने घटना घट्यो । यो घटना अमानवीय मात्र होइन, लाचार पनि थियो । एक उच्च प्रहरी अधिकृत मात्र होइन, त्यहाँ मारिएका अन्य जनपथ र सशस्त्र प्रहरीका अधिकृत र जवानहरुलाई जुन विभत्स हत्या गरिएको छ । त्यो हदैसम्मको निन्दनीय मात्र होइन, आपराधिक पनि छ । हामीले द्वन्द्वकालमा दुवै पक्षबाट यस्ता धेरै क्रुर र अमानवीय घटनाहरु सुन्यौं, प्रत्यक्ष देख्यौँ । बुद्ध जन्मेको देशमा अहिले मानिसहरु राक्षसजस्तो स्वभाव बोकेर हातमा तरबार र बञ्चरो बोकेर पशुवत व्यवहार गर्ने अलिकति पनि संकोच नमान्ने अवस्थामा पुग्नु बिडम्बना हो । यस्तो अमानवीय घटना घटाउने नरभक्षी दानवहरुलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कार्बाही गर्न वर्तमान सरकार र तिनका नेतृत्व चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कानुनी कार्बाहीमा लाग्न ढिला गर्नु हुन्न ।
नागरिकको सुरक्षाका लागि जनताप्रति उत्तरदायी भई सरकारले स्थापना गरेको संगठनको एक हिस्सामा लागेको नेपालीमाथि भएको यो बर्बरतापूर्ण हिंसा मच्चाउने ती मानवहरुलाई कोही कसैले पनि छोड्न हुन्न । देशमा ठूला–ठूला आपत्ति र विपत्ति आउँदा तिनैको आश्रयमा जीवन जिउन बाध्य हुनेहरु आज अधिकार प्राप्तिको गलत गलत व्याख्यालाई बुझी तिनैमाथि जाइलाग्नुले भोलि प्रहरीले जनतालाई ती भवितव्य प्राकृतिक होस् वा कृत्रिम आपतमा सहयोग गर्न लागेनन् भने ती जघन्य कार्यमा लागेका व्यक्तिहरुको हालत के होला ? सोचनीय गम्भीर प्रश्न नेपाल प्रहरीको हातमा छ । किनकि देशलाई हत्या, हिंसा, लुटपाटदेखि लिएर आकस्मिक कार्य गरेर विरता देखाउने आखिर को हुन् त ? तिनै नेपाल प्रहरी र सशस्त्र प्रहरी नै होइनन् त ? राज्य र द्वन्द्व गर्ने पक्षले यस विषयमा गम्भीर छलफल गर्न जरुरी छ, ताकि यसैको प्रतिशोधमा अर्को भिषण द्वन्द्व ननिम्तियोस् । दलहरुले वर्षौंदेखि शान्त र मिलेर बसेका आम नेपाली दाजुभाइ जातीय, धार्मिक वा सामाजिक संरचनामा हुर्किँदै गएका विभिन्न जाति तथा जनजातिहरुको यथार्थ सवालमा गम्भीर भएर जानैपर्दछ । यसमा सबैभन्दा ठूला दल कोही कसैपनि एक इञ्च तल सरेर हट्नु कदापि हुन्न ।
अहिले टिकापुर घटनासँगै नेपाली समाजमा जातीय÷क्षेत्रीय सद्भाव भड्काउने उत्तेजक–उत्तेजक तस्वीरहरु सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ । एकजातले अर्को जातलाई लक्षित गरेर सम्बोधन गरिएका प्रचारबाजी सरकारले रोक्न जरुरी छ, ताकि त्यसले नेपाली–नेपाली बीचको शान्ति र सद्भावमा खलल नपु¥याओस् । नेपाली हिजो महाभूकम्पको महान् विपत्तिमा थिए, अहिले धार्मिक, सांस्कृतिक विचलन होला कि भन्ने द्विविधामा छन् । यो बेलामा मुलुकमा सामुदायिक संयमको सर्वाधिक खाँचो छ । कैलालीमा घटेको घटनालाई पहाड–तराई या जाति विशेषबीचको विद्वेषको उपजका रुपमा अथ्र्याउन थालियो र तदनुरुपको व्यवहार÷प्रतिक्रियाहरु जन्मन थाले भने अहिलेको तरल राजनीतिक अवस्थामा थप अनियन्त्रित घटनाक्रमहरु हुन सक्छन् ।
त्यसकारण आम नेपालीले धैर्य र विवेकको आफ्नो विशिष्ट पहिचान गुम्न कोही कसैले दिनु हुन्न । संयम भएरै समाधान खोजिनुपर्दछ । राजनीतिक क्षेत्रबाट अगुवाई गर्ने नेताहरु यसतर्पm विशेष चनाखो हुनुपर्छ । हिंसाको बदला प्रतिहिंसा हुन सक्दै–सक्दैन । त्यसैले थप हिंसा भड्किन नदिन राज्यबाट आवश्यक सुरक्षा–कदमहरु थाल्नैपर्दछ । समस्याको दिगो समाधान मुलुकको अधिकतम समुदायको अपनत्व रहने किसिमको संविधान जारी गरेर मात्रै सम्भव छ । यसका निमित्त सम्बन्धित समुदायसँगको सम्वाद र सहमति नै उत्तम विकल्प हुनेछ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives