Featured Photos
Recent News

त्यो उज्यालो (बालकथा)

यशु श्रेष्ठ
‘नानु साँझ पर्न लागिसक्यो । अब घर जानुपर्छ’ घाँसको भारी बान्दै आमाले नानुलाई भन्नुभयो । ‘आमा, अलि धेरै अम्बा लगेँ भने साथीहरूलाई धेरै दिन पाइन्छ नि त’ नानुले अम्बाको बोटमा झटारो हान्दै भनिन् ।
‘पुग्छ के यति भए । अब हिँड । बाटैमा रात पर्छ’ आमाले पनि दुईचारवटा अम्बा टिपिदिनुभयो । नानुले सबै अम्बा बोकिन् । काठको सानो घोँचा घिसार्दै उनी अघि लागिन् ।
घाँसको भारी बोकेर आमाचाहिँ नानुको पछिपछि गफ गर्दै हिँड्नु भयो । गुडुङ्....गुडुङ्......! आकाश करायो । डरले आमाको मन डरायो सायद । आमा नि कराउनु भयो ‘पानी पर्ला जस्तो छ । पाखातिर पानी परेको होला नानु । लौ छिटो हिँड त । चाँदे खोला उर्लेर आयो भने त तर्नै सकिँदैन । अनि त बर्बाद !’ आमा हतारिनु भयो ।
‘लौ अलि छिटो हिँड त नानुु अब आमाअघि लाग्नु भयो । छिटो–छिटो हिँड्दै उनीहरू एउटा डिलमा पुगे । डिलबाटै उभिएर आमाले खोलालाई हेर्नु भयो । लौ बर्बाद, खोला त वारको पार भएर उर्लिसकेछ । लौ न अब के गर्ने ? आमा र नानु दुवैजनाको आँखा जुध्यो । सुइयः सुस्केरा हाल्दै आमाले भारी बिसाउनुभयो । नानुले पनि घोँचा बिसाइन् ।
‘खहरे खोला न हो । एकछिनमा त सुकिहाल्ला नि’ आमाले खोलातिर हेर्दै भन्नुभयो । नानुले आमाको अनुहारलाई हेरिन् । उनको अनुहारमा एक थोपा पानी प¥यो ।
‘अब पानी पर्नेछ । घर जान पनि खोलाले रोक्यो । के पो गर्ने त ?’ चिन्ताले होला आमाको अनुहार नि कालो भयो ।
‘के गर्ने त आमा अब’ नानुले सोधिन् ।
‘जाऊँ नानु ओत लाग्न ।’ नानुलाई तान्दै आमा ठूलो रूखमुनि जानु भयो । ‘आमा घाँस त भिज्छ नि ।’ नानुले घाँसतिर हेरिन् । ‘घाँस भिजेर केही हुन्न’ आमाले आकाशतिर हेरेर भन्नुभयो ‘तिम्रो अम्बा नि त्यहीँ राख ।’ नानुले अम्बालाई घाँसको भारीमाथि राखिन् ।
आमाले पनि घाँसको भारीमा राखेको हसियाँ झिक्नु भयो । आफैंसँग के–के कुरा गर्दै नानुलाई तान्दै जंगलभित्रै जानु भयो । ‘फेरि जंगलभित्रै जाने ?’ नानु छक्क परिन् । आमाले हतार–हतार अम्बाको बोटमा चढेर अम्बा टिप्नु भयो । ‘साथीहरूलाई धेरै अम्बा देओस् भनेर छोरीले भनेपछि धेरै अम्बा टिपिदिन लाग्नु भयो आमाले ।’ उनी मनमनै आमासँग खुसी थिइन् । पोल्टाभरि अम्बा टिपेर आमा रूखबाट ओर्लनु भयो ।
केही अम्बा नानुलाई बोकाएर फेरि हतार–हतार घोचा काट्न लाग्नुभयो । लामा–लामा दुइटा घोचा आमाले घिसार्नु भयो । छोटाछोटा दुइटा घोचा नानुलाई घिसार्न लगाउनुभयो । आमाको हतार झनै बढ्दै थियो । अघिको एकदुई थोपा पानी, अब धेरै साथी लिएर झर्दै थियो जमिनतिर ।
घाँसनेर आएर आमाले लामो सास फेर्नु भयो । दुइटा घोचाको एक–एक छेऊ डिलमा राखेर अर्काे छेऊ चाहिँ तलतिर पठाउनु भयो । घोचा करालो परेर बस्यो । त्यही माथि सानासाना घोचा तेसार्नुभयो आमाले ।
‘नानु यहीँ बस है?’ आमाले अलि परतिर गएर, झ्याप–झ्गर्दै छिटो–छिटो स–साना घोचा र स्याउला काट्नु भयो । तिनलाई फटाफट ओसारेर घोचामाथि राख्न लाग्नु भयो । यसो हेर्दा बाख्रा राख्ने गोठजस्तो देखियो त्यो ठाउँ । नानुले पनि आमालाई सहयोग गर्दै थिइन् ।
झरररर पानी प¥यो । आमा र नानु आफूले बनाएको छाप्रो भित्र पसे । ‘आहा हामीलाई पानीले भिजाउन सकेन !’ नानु खुसीले उफ्रिइन् । आमाको पोल्टाभरि अम्बा थिए । एउटा अम्बा झिकेर नानुले खान थालिन् । आमाको अनुहार झनै हँसिलो भयो ।
झन्–झन् रात पर्दै थियो । पानीको बेग बढ्दै थियो । छाप्रोभित्र अलि–अलि पानी चुहिँदै थियो । छाप्रोभित्रै बसेर यताउता गर्दै आमाले पानी नचुहिने बनाउँदै हुनुहुन्थ्यो छाप्रोलाई । ‘हतार–हतार गरेर टिपिएको अम्बा त भोक लाग्दा खानका लागि पो रहेछ’ आमाले अम्बा खान थालेपछि पो थाहा पाइन् नानुले । आमाले अम्बा खाएको हेरिरहिन् नानुले । ‘तिम्रा साथीको लागि पनि राखिदिऊँला ।’ अम्बा चपाउँदै आमाले भन्नुभयो ।
‘घटेको छैन खोला ।’ खोलाको स्वाँ ..... आवाज सुन्दै आमाले भन्नुभयो ।
‘ला ! भोलिसम्म नि घटेन भने ?’ नानु डराइन् ।
‘चिन्ता नमान । ठाडो खोला हो, घटिहाल्छ नि । ‘आमाले नानुको टाउकोतिर मुसार्नु भयो । नानु त्यत्तिकै लुटुक्क निदाइन् । ब्युँझिँदा त नानुले आमाको फरियाको एक छेऊ ओछ्याएकी रहिछिन् । आमा पनि फरिया ओछ्याएरै निदाइरहनु भएको रहेछ ।
किरकिर किरकिर झ्याउँकिरीहरू कराएको आवाज प्रष्टै सुनिन्थ्यो । पानी पनि पर्न छोडिसकेको रहेछ । खोला नि सुक्दै गएको हो जस्तो खोलाको स्वर पनि सुनिएको थिएन । उनको आँखा छाप्रोको तल्लो भागमा प¥यो । त्यहाँबाट निकै पर एउटा सानो उज्यालो बलिरहेको देखिन् उनले । त्यो उज्यालो हिँडिरहेको थियो आफैं । नानुलाई कता–कता डर लागेर आयो ।
‘आमा ..... आमा ....’ नानुले बोलाइन् । ‘के भयो नानु ? ओहो कस्तो निदाइएछ’ भन्दै आमा उठ्नुभयो । नानुले आमालाई त्यो सानो उज्यालो देखाइन् ।
‘के पो होला त ? अह ! त्यो त यतै पो आउँदै छ त ?’ आमा नि डराएको जस्तो लाग्यो नानुलाई । उनी आमासँगै टाँसिइन् । 
‘नडराउन नानु, आमा छँदै छु नि ।’ आमाले दह्रो गरी समाउनु भयो नानुलाई । गाइँगुइँ गाइँगुइँ हाल्ला पनि सुनियो । ‘ए नानुकी आमा । नानुकी आमा हो .....’ कसैले ठूलो आवाज गरेर आमालाई बोलाए ।
‘ए यो आवाज त तल्लाघरे काइँला दाइको हो ।’ आमाले कान थापेर सुन्नुभयो । फेरि अर्काे आवाजले आमालाई बोलायो । ‘यो चाहिँ विमल बाबु आवाज हो ।’ आमा खुसी हुँदै छाप्रोबाट बाहिर आउनु भयो । त्यो उज्यालो छाप्रोतिरै बढ्दै थियो । आमाले पनि ‘ए काइँला दाजु, विमल बाबु .... हामी त यहाँ छौ है यहाँ’ भन्दै सोध्नुभयो ‘खोला सुकिसकेको हो ?’
एकछिन पछि सबै जना त्यहीँ आइपुगे । ‘यी नानुको आमाको आइडिया चाहिँ मान्नुपर्छ । दह्रो मनकी छिन् यिनी’ काइँला दाइले आमाको प्रशंसा गर्नुभयो । त्यो सानो उज्यालो काइँला दाजुको टर्च लाइट रहेछ । नानुले समातेर बाल्न लागिन् । त्यो उज्यालो उनलाई जूनको उज्यालो जस्तै लाग्यो । 
‘लौ जाऊँ हिँड’ काइँला दाइले भन्नुभयो ‘काइँलीले भनेर पो थाहा पाएँ त तिमीहरू जंगल आएको कुरा । अनि घरमा गएर हेरेको त ताल्चा पो मारेको छ । अनि त आत्तियौं नि हामी । अलिकति खोला घट्ने बितिक्कै आएका नि तिमीहरूलाई बोलाउँदै’ काइँला दाजुले नि एउटा अम्बा टोक्नु भयो । विमल बाबु अनि अरूले नि एउटा–एउटा अम्बा खाए । 
‘यति अम्बा चाहिँ मेरा साथीलाई’ दुईचारवटा अम्बा चाहिँ नानुले बगलीमा हालिन् । ‘लौ हिँड अब’ काइँला दाइले घाँसको भारी बोक्नु भयो । ‘मै बोक्छु नि, दाजुलाई कति दुःख दिनु’ आमाले भन्दाभन्दै ‘लौ खुरुखुरु हिँड’ भन्दै घाँसको भारी बोकेर काइँला दाजु अघि लाग्नु भयो ।
त्यो उज्यालो टर्च बालेर नानु पनि पछि–पछि लागि । अघि त्यही उज्यालो देखेर तर्सिएकी नानु, अहिले त त्यही उज्यालो बोकेर फुर–फुर रमाउँदै हिँड्दै थिइन् घरतिर ।


Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives