Featured Photos
Recent News

बर्बादीको यात्रा

संघीयताको मुद्दा झन–झन पेचिलो र भयावह बन्दै गएको छ । मुलुकलाई कति वटा संघीय राज्यमा विभक्त गर्ने भन्ने विषयले तनावग्रस्त बनाइरहेको छ । तराईका कयौं जिल्लामा मानवीय र भौतिक क्षति भइरहेको छ । कहिल्यै हिंस्रक नदेखिएको सुदुर पश्चिम नेपालको थारु समुदाय अलग थरुहट राज्य माग गर्दै विद्रोहमा उत्रिएको छ । तर थारु नेताहरु तिनको शब्दमा शान्तिपूर्ण भएको तर्क गरिरहेका छन् ।
थरुहटको आन्दोलनको ११ औं दिन नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजनाको ज्यान लिने गरि ७ भदौमा कैलालीको टिकापुर घटनामा प्रदर्शनकारीले एकजना प्रहरीका दुई वर्षे छोराको पनि ज्यान लिएको तथ्य बाहिर आएको छ । भर्खर तोतेबोली फुट्दै गरेको अवोध बालकको विद्रोहीको हातबाट ज्यान जानु अत्यन्तै नृशंस र भयानक अपराध हो । आन्दोलनलाई नेतृत्वले नियन्त्रणमा लिन नसक्दा यो अवस्था आएको स्वतः अनुमान गर्न सकिन्छ । उसैगरि थारुहरुका घर, गोठ र होटटलहरु जलाएर गरिएको क्षति पनि उत्तिकै खतरनाक साजिस हो ।
राजनीतिक लडार्इँ चल्दा पनि केहि न्यूनतम मानवीय मूल्य र मान्यताको ख्याल गरिन्छ । युद्धको घडिमा पनि संकटाभिमुख (ख्गलिभचबदभि) पक्षलाई क्षति नपुग्नेगरि आफ्नो अभ्यास चालु गरिने चलन विश्वमा बसिसकेको छ । विद्रोहमा प्रत्यक्षतः असंलग्न पक्षलाई क्षति पुग्छ भन्ने कुरामा साह्रै सचेतता अपनाइन्छ । गर्भवती, महिला, बालबालिका, वृद्धवृद्धा, रोगी, अशक्त लगायत द्वन्द्वमा संलग्न नभएकाहरुलाई मात्र होइन घाइते भएकाहरुलाई पनि इज्जतसाथ उसको पक्षसमक्ष सुम्पुवा गर्नु पर्दछ । तर निःशस्त्र र नाबालक पनि यहाँ दिनदहाडै समातेर मारिएको घटनालाई पनि राजनीतिक घटना भनि टिप्पणी गर्ने गरेको सुनियो ।
थरुहटको मागलाई सडकदेखि संसदसम्म चकाईरहेको छ थारु नेतृत्वले । राजनीतिक मान्यता स्थापित गर्ने बिधि यहि हो । शान्तिपूर्ण आन्दोलन जहिँपनि गर्न सकिन्छ लोकतन्त्रमा । अहिले सडकमा प्रदर्शनको लागि निस्कन पाउने अधिकार पनि लोकतन्त्रले नै दिएको हो । यतिको अधिकार पाउनको लागि मुलुकका सबै भागका जनता बराबर लडेका हुन् । कुनै एक जातिले लडेर अहिलेको उपलब्धी हाँसिल गरेको होइन । अघिल्ला सबैखाले आन्दोलनको निष्कर्ष यहि हो की मुलुकमा सबैखाले जातजाति मिलेर बस्नु पर्दछ । नेपाल हुनुको सार्थकता यहिमा छ । तर कतिपय नेताहरु राष्ट्रिय होइन प्रान्तीय र क्षेत्रीय हुन खोजिरहेका छन् । तिनलाई मुलुक कसरी विभक्त गर्दा आफ्नो राजनीतिक उद्योग फस्टाउँछ भन्ने बाहेकको चिन्ता छैन ।
साम्प्रदायिक दुर्भावनाको विषालु काँडावृक्ष रोपिएको छ मुलुकमा । त्यसले फल दिन थालेको छ । गाउँ–गाउँमा जातजातका मानिसलाई भिडाएर आउने उपलब्धी भनेको लासको पहाड बाहेक केहि पनि होइन । सानातिना राजनीतिक मामिलामा पनि छिमेकीदेशको दूताबासको राय खोज्ने स्तरमा ओर्लिएको छ अहिलेको नेतृत्व । यो बर्बादीको यात्रा जस्तो मात्र देखिएको छ ।१२

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives