Featured Photos
Recent News

पर्यटक तान्दै राजारानी

मोरङ/ धिमाल जातिको उद्गमस्थल मानिएको र मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको क्षेत्रमा सञ्चालित ‘होमस्टे’ पर्यटक तान्ने प्रमुख आधारका रुपमा विकसित हुँदै गएको छ ।
राजारानी होमस्टे व्यवस्थापन समितिका सचिव विष्णुकुमार मगरका अनुसार अहिले पर्यटनको मौसम छैन तर राजारानीमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टेमा बस्न र राजारानी पोखरी हेर्नेको लर्काे नै लागिरहेको छ ।
मगरले भने –‘अन्यत्रका होमस्टे पर्यटक नआएर बन्द भएको खबर हामीले पनि थाहा पाएका थियौँ’– उनले थपे –‘यहाँ पनि त्यस्तै होला बेकारको झन्झट हुनेभयो भन्ने लागेको थियो तर यहाँ त्यस्तो भएन । दैनिक समूह–समूहमा आन्तरिक पर्यटक आइरहेका छन् । राम्रो चलेको छ ।’
मोरङको लेटाङ–भोगटेनी नगरपालिकाको चुरे क्षेत्रमा अवस्थित राजारानी पोखरी र त्यस आसपासको प्राकृतिक मनोरम दृश्यमा रम्न विराटनगर, धरान, दमक, धनकुटासहित विभिन्न क्षेत्रका पर्यटक पुग्ने गरेका छन् । होमस्टेमा बस्न र पोखरी हेर्नका लागि मात्र नभएर राजारानी क्षेत्रमा पाइने एकसयभन्दा धेरै प्रजातिका सुनाखरी, जङ्गली कछुवा, सेतो सर्प, अजिङ्गर र विभिन्न प्रजातिका चरा हेर्न जाने पर्यटक बढेको राजारानी पोखरी संरक्षण समितिका सल्लाहकार डिल्लीमान तामाङले बताए ।
उनले भने – ‘पर्यटक बढाउन होमस्टे झन सहयोगी बनेको छ ।’ राजारानी पोखरी क्षेत्र ३२ हेक्टरमा फैलिएको छ । यो ठाउँ विराटनगरबाट करिब ४० किलोमिटर उत्तरमा अवस्थित छ ।
भोगटेनी–४ राजारानीमा पाँचवटा घरमा परीक्षणस्वरुप होमस्टे सुरु गरिएको छ । त्यहाँ बस्नका लागि निश्चित नियम पनि बनाइएको छ । आचारसंहिता लागू गरिएपछि कुनै समस्या नआएको स्थानीय सञ्चालकले बताएका छन् । होमस्टेको व्यवस्थापन गर्ने जिम्मेवारी महिलालाई नै दिइएको छ । समितिकी अध्यक्ष ज्ञानीमाया मगर भन्छिन्, ‘हाम्रो परम्परागत नाच, रहनसहन, संस्कार र संस्कृतिको विषयमा पनि पर्यटकलाई जानकारी दिने प्रबन्ध गरिएको छ ।’ स्थानीय परिकार खुवाउने व्यवस्था गरिएको र बस्नका लागि पर्यटकको चाहनाअनुसारको व्यवस्था भएको उनँले बताइन् ।
साँझ ८ बजेसम्म सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाइने नियम लगाइएको र नाचमा पर्यटकले पनि भाग लिन पाउने मगर बताउँछिन् ।
मोरङको पथरी शनिश्चरेबाट परिवारसहित घुम्न पुगेकी सम्झना राईले भनिन् – ‘यहाँको प्राकृतिक मनोरम दृश्यका बारेमा सुनेकी थिएँ त्यही भएर परिवारसहित घुम्न आएकी हुँ । रमाइलो ठाउँ रहेछ ।’
राजारानी पोखरीमा हरेक वर्ष वैशाखमा धिमालहरुको ठूलो मेला लाग्ने गर्छ । त्यहाँ झापा, मोरङ र सुनसरीका धिमालहरु पुग्छन् । धिमाल राजा युद्ध गर्न तल मधेस झरेपछि हार भएको र उनकी श्रीमतीले छोरीसहित पोखरीमा हामफालेर ज्यान गुमाएपछि तीनवटा पोखरी राजा, रानी र छोरी पोखरी भनेर नामाकरण गरिएको किंवदन्ती छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives