Featured Photos
Recent News

दुर्गममा अझै पनि ढिके नुनको प्रयोग

प्रकाश धौलाकोटी
 
तेह्रथुम/जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणले अझै पनि ढिके नुनको प्रयोग गर्दै आएका छन् । दुर्गम र सदरमुकामबाट टाढाका गाविसका बासिन्दाहरुले आफैंले खान समेत ढिके नुनकै प्रयोग गर्ने गरेको पाइएको हो ।
खुला रुपमा पाइने तथा बजारमा उपलब्ध हुने ढिके नुनले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने बताइन्छ । तै पनि पशु चौपायलाई भने ढिके नुन प्रयोग गर्ने चलन छ । तर जिल्लाका सदरमुकाम म्याङ्गलुङ्ग लगायत अन्य बजारहरु र केही गाविसहरुमा बाहेकका बासिन्दाले आफुले खानका लागि पनि ढिके नुनकै प्रयोग गर्ने गरेको पुर्वी संक्रान्तिबजारका व्यापारी पुष्प ढुंगेलले बताए ।
‘अहिले पनि मासिक रुपमा झन्डै १० क्विन्टल बढी ढिके नुन बिक्री हुन्छ’, व्यापारी ढुंगेलले भने– ‘यहाँका ह्वाकु, ईवा, थोक्लुङ्ग, संक्रान्ति लगायतका गाविसका बासिन्दामध्ये धेरैले ढिके नुन नै खान्छन् ।’ स्वास्थ्यका लागि खासै उपयुक्त नभएको भन्ने थाहा पाएपनि आफ्ना ग्राहकले खोज्ने गरेकाले ल्याएर ढिके नुन पनि बिक्री वितरण गर्ने गरेको उनले बताए ।
गाउँका बजारमा ढिके नुन आयोडिन युक्त नुन भन्दा बढी बिक्री हुने गरेको छ । ईवाका खुद्रा व्यापारी सुन्दर तामाङले आयोडिन युक्त नुन नै पसलमा नराख्ने गरेको बताए । महँगो पर्छ भनेर कसैले पनि किन्दैन, त्यसैले मैले त आयोडिन नुन नै ल्याउन छाडे, बरु सस्तो पर्ने ढिके नुनको व्यापार राम्रो छ, उनले भने । जिल्लामा सदरमुकामसँगै शुक्रबारे, संक्रान्तिबजार लगायत बजारहरुबाट ठूलो मात्रामा ढिके नुन खपत हुने गरेको छ । तर मान्छेले खानकै लागि भने पूर्वी गाविसहरु र पश्चिमी केही गाविसहरुमा यसको प्रयोग हुने गरेको पाइएको छ ।
ढिके नुन सस्तो मूल्यमा पाइने र चलाउनलाई फारो हुने हुँदा यसको प्रयोग गर्ने गरेको स्थानीयबासीको भनाइ छ । आयोडिन युक्त नुन प्रयोग गर्नुपर्छ भन्ने चेतनाको कमीले पनि सर्वसाधारणले ढिके नुन प्रयोग गरेको केलिङ निमावि ईवा शिक्षक मदन गुरुङले बताए । गाउँमा एक के.जी ढिके नुन १८ रुपैयाँमा पाइन्छ, तर आयोडिन युक्त नुन ३० रुपैयाँ पर्छ ।
भारतीय बजारबाट ल्याइने ढिके नुन सीमावर्ती बजारमा खुलै रूपमा लामो समयसम्म राखिने र नेपालका गाउँमा पठाइने गरेकाले पनि नुनमा भएको आयोडिनको मात्रा घटेर जाने गरेको छ । यसरी नेपालमा आएको नुन व्यापारीहरुले पनि खुलमखुला राखेर विक्री वितरण गर्ने गरेका छन् ।
आयोडिनको मात्रा नभएको यस्तो नुन चौपायालाई खासै लाभदायक नहुने विज्ञहरु बताउँछन् । तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले पनि सर्वसाधारणले गाई वस्तु सँगै आफूलाई पनि यही नुनको प्रयोग गर्ने गरेका हुन् । स्वास्थ्यका लागि अहितकर भनिएको यस्तो नुन भित्र्याउनेलाई कारबाही गर्ने गरिएको भनिए पनि यहाँका व्यापारीले बेरोकटोक कारोबार गरिरहेका छन् । नुनमा ५० प्रतिशत आयोडिनको मात्रा हुनैपर्ने र त्यस्तो नुन मात्र मानव तथा पशु स्वास्थ्यका लागि उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives