Featured Photos
Recent News

स्वास्थ्यसम्बन्धी केही भ्रम र तथ्यहरु

डा. अनिल राई
सानो छँदा गाउँमा सुनेको थिएँ ‘आलु खायो भने घाऊ पाक्छ’ भनेर । अहिले आएर सम्झँदा हाँसो उठ्छ । चिनी रोगी भए ‘सुगर’ बढ्दा घाऊको इन्फेक्सन हुने सम्भवना हुन सक्ला, नभए त सामान्यतया आलु खानु र घाऊ पाक्नुको त ‘गोरु बेचेको साईनो’ पनि छैन । सायद घाऊ पाक्दा आउने पीपको रङ र आलुको रङ मिल्नुको कारण त्यसो भनिएको हुन सक्छ, तर हामीले बुझ्नुपर्छ कि घाऊ पाकेको त घाऊ सफा नराखी हेलचेक््रयाई गर्नाले हो ।
मेरो लेखहरुमा व्यक्त धारणा केवल आफूले देखेको र सुनेको घटनाहरुको सम्बन्धमा टिप्पणी गरिएका हुन् । कसैले व्यक्तिगत रूपमा नलिईदिन हुन अनुरोध गर्दछु । अब आउनुहोस्, हाम्रो समाजमा भएका स्वास्थ्यसम्बन्धी केही मिथ्याहरुको बारेमा चर्चा गरौं । विदेशमा र नेपालमा नै भएको हाम्रो नेपाली समाजमा ‘होल बडी (पुरा शरीर) चेकअप गर्नुपर्ने छ’ भनेको हामीमध्ये धेरैले सुनेका छौं । यसो भन्नुको तात्पर्य आफ्नो शरीरमा कुनै रोगहरु छ कि छैन यकिन गर्नलाई नै हो । त्यसो भन्ने ब्यक्तिले प्रायजसो यही सोंचेको हुन्छ कि पूरा शरीर जाँच गर्नु सम्भव छ । म स्पष्टसँग कुरा राखौँ, यस्तो कुरा असम्भवप्राय छ किनकी सारा शरीर चेकजाँच गर्ने गच्छे हामीमध्ये धेरैसँग छैन वा यो सम्भव नै छैन । उदाहरणको लागि हामी मुटुसम्बन्धी जाँचलाई लिन सक्छौं ।
अब सोचौं त हाम्रो शरीरमा कति अङ्गहरु छन् । के यी सबको परीक्षण सम्भव होला त ? यदि भैहालेछ भने पनि नचाहिने टेष्टहरु गर्दा शरीरलाई कति बेफाईदा हुँदो हो, के हामीले यो कुरा एकपटक सोंचेका छौं त ?
मुटुको जाँचमा ब्लड प्रेसर जाँच, रगतमा कोलेस्ट्रोल, ईसिजी सामान्यतया गरिने परीक्षण हुन् । अझ राम्रोसँग परीक्षण गर्ने हो भने ईकोकार्डियोग्राफी, एनजियोग्राफी, टिएमटी लगायत धेरै खाले जाँच गर्न सकिन्छ । यकिनका साथ रोग छैन भन्नलाई धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने हुन्छ । अब सोचौं त हाम्रो शरीरमा कति अङ्गहरु छन् । के यि सबको परीक्षण सम्भव होला त ? यदि भैहालेछ भने पनि नचाहिने टेष्टहरु गर्दा शरीरलाई कति बेफाईदा हुँदो हो, के हामीले यो कुरा एकपटक सोंचेका छौं त ?
यति हुँदाहुँदै पनि तपाईंले टेष्टहरु गर्नुभयो भने पनि हामीले थाहा पाएकै राम्रो कि हाम्रो शरीरमा थाहा नपाएका कति वङ्शाणुगत रोगहरु हुन सक्छन् जो पत्ता नलाग्न सक्छ वा पत्ता लागे पनि त्यसको उपचार असम्भव छ । त्यसैले हामीले गर्ने भनेको चाँही डाक्टरको सल्लाहमा आवश्यक परीक्षण गर्ने नै हो । कहिलेकाँही त बिरामी आँफैले आफुलाई नचाहिने परीक्षणहरु डाक्टरलाई सिफारिस गरी माग्छन् ! यो उचित नहोला जस्तो लाग्छ मलाई त । आफ्नो शरीरमा लाग्न सक्ने रोगहरुबारे सचेत होऔँ, धेरै चिन्तित हैन । मेरो शरीरमा यो वा त्यो रोग पो छ कि भन्ने चिन्ताले जिन्दगी बाँच्नुको मज्जा नै बिर्सिनु हुनेछ ।
यति भन्दाभन्दै पनि म यो सल्लाह दिन चाहन्छु कि हाम्रो शरीरको धेरैजस्तो अङ्गको सामान्य परीक्षण गर्नु चाँही उचित नै हुन्छ । यस्तो सुविधा हाम्रो देशको धेरैजस्तो अस्पतालहरुमा पाईन्छ । सुविधासम्पन्न अस्पतालहरुमा यस्ता परीक्षणहरु ‘प्याकेज’ मा उपलब्ध हुन्छन् र यस्ता परीक्षणहरुले मान्छेको शरीरमा साधारणतया लाग्ने रोगहरु पत्ता लगाउन मद्दत गर्दछ । उमेर अनुसार त्यस्तो परीक्षणहरु लक्षित हुन्छन् । जस्तो कि पैंतालिस वा पचास उमेर भएपछि चिनी रोग र ब्लड प्रेसरको समस्या धेरै देखिन्छ । हामीले चिन्ता गर्नुपर्ने भनेको आफ्नो उमेर अनुसार लाग्नसक्ने रोगहरुको नै हो । त्यस्तै, महिलाहरुमा पाठेघर र स्तनसम्बन्धी समस्याहरु धेरै देखिन्छ र त्यही अनुरूपको परीक्षणहरु गर्नुपर्छ । यदि कुनै अङ्गको खराबी देखिएमा चिकित्सकको परामर्शमा अझ उपयुक्त परीक्षण गर्नु र त्यही अनुसारको औषधि सेवन वा अपरेशन लगायत के गर्नुपर्ने हुन्छ त्यही अनुसार गरेको राम्रो हुन्छ । आफुलाई पायक पर्ने ठाउँमा तपाईं यी परीक्षणहरु गर्नसक्नु हुन्छ ।
हामीले चिन्ता गर्नुपर्ने भनेको आफ्नो उमेर अनुसार लाग्न सक्ने रोगहरुको नै हो । त्यस्तै, महिलाहरुमा पाठेघर र स्तनसम्बन्धी समस्याहरु धेरै देखिन्छ र त्यही अनुरूपको परीक्षणहरु गर्नुपर्छ ।
एउटा घटना याद गर्नुपर्दा, सानो छँदा बजार जाँदा देखेको एउटा घटना अहिले पनि झल्झली याद आउँछ । एउटा मान्छे दवाई भन्दै केही पुरियामा धुलो र बाख्राका बड्क्यौला जस्तो देखिने केही चिजहरु बेच्न बस्थ्यो । छेउमा एउटा पुरानो क्यासेट प्लेयर बजिरहेको हुन्थ्यो जस्मा एक जना मान्छे धाराप्रवाह बोलिरहेको हुन्थ्यो, झिजो लाग्ने गरी, ‘आउनुहोस्, आउनुहोस्.....’ । ती क्यासेट प्लेयरमा बोल्ने महानुभावका अनुसार त्यो पुरियामा भएको ‘दबाई’को प्रयोग पेट दुखेको, जिउ दुखेको वा सुन्निएको, पखाला लागेको, आउँ परेको, खाना नरुच्ने, मासी परेको र यस्तै–यस्तै सारा रोगको निदान थियो । खै कुन्नी कहाँबाट ल्याएको हो, २–३ थरीका मरेका जुका फर्मालिनको झोलमा डुबाएर राखेको हुन्थ्यो, र ती मानिस दावा गर्थे कि ती जुकाहरु त्यो चमत्कारी दवाई खाएपछि निस्किएको रे ! जुका हेर्दा कुनै विज्ञान बिषयको पढाई हुने कलेजमा विद्यार्थीको पढाईको लागि कुनै विदेशी उध्योगमा तयार पारिएका बट्टाजस्ता देखिन्थे । हामीले स्कुलको ल्याबमा देखेको जस्तै हुबहु । यस्तो चमत्कारी पुरियाको दाम चाँही केवल पाँच वा दश रुपैयाँ, अद्भुत र अचम्म ! कुन्नी के–के राखेर मान्छेको आँखामा छारो हाल्ने काम गर्थे ति मनुवा । बजार भर्न आएकाहरुको सानोतिनो भिड नै लाग्थ्यो त्यहाँ ।
एकजना मधेशी मुलकी महिला भिटामिन नपाउँदा चिच्याई–चिच्याई कराएको सम्झँदा अहिले हाँसो उठ्छ । ‘झोल भिटामिन नदिने डाक्टरले के उपचार गर्छ र ?’
सन् २०११ को अन्ततिर हामी स्वास्थ्य सिविर लिएर कपिलवस्तु जिल्लाको फुलिका गा.वि.स. गएका थियौं । तराई–मधेशमा पर्ने भए पनि त्यो ठाउँमा अन्य तराईका ठाउँ हेरी गरीबी व्याप्त थियो । गर्मी मौसममा टन्टलापुर घामको पर्वाह नगरी टाढा–टाढाबाट बिरामीहरु आएका थिए । बिरामीहरुको आफ्नो–आफ्नो समस्या अनुसार हामीले चेक–जाँच गर्दै निःशुल्क औषधि दिने ठाउँतर्फ पठाउँथ्यौं ।
बुझ्दै जाँदा प्रायजसो बिरामीहरुको एउटै भित्री मनसाय हुन्थ्यो कि ‘भिटामिनको झोल दवाई चाँही डाक्टर साबहरुले लेखिदिनु भए हुन्थ्यो’ । हामीले सबैलाई ‘भिटामिनको झोल दवाई’ लेखिदिने कुरा भएन । एकजना मधेशी मुलकी महिला भिटामिन नपाउँदा चिच्याई–चिच्याई कराएको सम्झंदा अहिले हाँसो उठ्छ । ‘झोल भिटामिन नदिने डाक्टरले के उपचार गर्छ र ?’ भन्ने आशय थियो ति अधबैंसे महिलाको ! भिटामिनको झोलबारे ति महिलाको सोचाई हाम्रो समाजको प्रतिनिधि पात्रको सोचाई हो । हाम्रो समाजमा केही ब्यक्ति छाडी अधिकांशको सोच त्यही हो ।
बुझ्नुपर्ने कुरा के हो भने, भिटामिनको झोलभन्दा सन्तुलित आहार (ब्यालेन्स्ड डाईट) खाएर शरीरको भिटामिनको आवश्यकता पूरा गर्नुपर्छ । भिटामिन खरिद गर्दा लाग्ने रकमले त धेरै पौष्टिक खानेकुरा किन्न सकिन्छ । सानो छँदा औषधि पसलमा भिटामिनहरु आकर्षक प्याकमा राखिएको देख्दा मलाई पनि ति ‘चमत्कारी झोल’ नै हो कि जस्तो लाग्थ्यो । आज ति भ्रम रतिभर पनि छैन । ‘स्लाईन पानी’ को बारेमा पनि केही यस्तै सोंचाई र बुझाई छ हाम्रो समाजमा, जुन गलत छ ।
अन्तमा, हामी कोहीकोही अज्ञानताको सिकार भएका छौं । स्वास्थ्यमा खेलवाड गर्नै नहुने कुरा हो । स्वास्थ्यको सबैलाई नै चिन्ता हुन्छ । सन्तुलित भोजन र ब्यायाम गरी धुम्रपान र मध्यपानबाट टाढा रहे धेरै रोग लाग्नबाट बच्न सकिन्छ । सन्तुलित भोजन भनेको त्यस्तो भोजन हो जस्मा हाम्रो शरीरलाई चाहिने पोषक तत्वहरु जस्तै कार्बाेहाईड्रट, प्रोटिन, फ्याट (चिल्लोपन), भिटामिन आदि सही मात्रामा हुन्छन् ।
लागुपदार्थ दुब्र्यवसनबाट पनि टाँढै बसौं । आफ्नो शरीरमा कुनै अनौठो लक्षणहरु देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह लिनसक्नु हुन्छ । आफ्नो स्वास्थ्य बारेमा सधैं सचेत रहौं र स्वास्थ्य सम्बन्धी पुस्तकहरु पढ्ने बानी गरौं । जसरी म आलु खानु र घाऊ पाक्नुको मिथ्याबाट मुक्त भएको थिएँ, आशा गर्छु तपाईंहरु पनि आफ्नो मनमा भएको त्यस्तै मिथ्याहरुबाट मुक्त हुनुहुने छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives