Featured Photos
Recent News

परजीवी होइन, स्वावलम्बी बनौं

सुनिता आचार्य
स्वावलम्बी व्यक्ति कसैलाई गलत सल्लाह दिँदैन बल्कि आफ्नो कार्यबाट अरुलाई स्वावलम्बनको पाठ सिकाएर उदाहरणको रुपमा प्रस्तुत हुन्छ ।
स्वावलम्बनको अर्थ हो, दोस्रो व्यक्तिमा आश्रित नहुनु वा आफ्नो लागि आफै काम गर्नु । जो व्यक्ति हरेक काम आफ्नो बलबुताले भ्याएसम्म गर्छ र सहायताको लागि अरुको मुख ताक्दैन, त्यो व्यक्ति नै वास्तबमा स्वाबलम्बी व्यक्ति हो । यस्तो व्यक्ति आफूले आफूलाई भरोसा गर्छ, उ आफ्नो शक्तिलाई चिन्न सक्छ र उचित समयमा यस्तो शक्तिको प्रयोग गरी सफलता आर्जन गर्न सक्छ । यो संसारमा धेरै यस्ता व्यक्तिहरू छन्, जो अरु व्यक्तिको मेहनतमा आफ्नो हक जमाउछन् र बिना कुनै परिश्रम सारा सुख भोगिरहेका छन् । तर स्वाबलम्बी व्यक्तिमा यति तागत हुन्छ कि उ जहाँ प्रयास गर्छ, त्यही उसलाई सफलता मिल्छ । उसले आफ्नो शक्तिलाई पखेटा सरह प्रयोग गरी आकाशको उचाईमा उड्न सक्छ । उ आत्मनिर्भर हुन्छ वा उसले सहायताको लागि कसैसँग हात पसार्न जानेको हुँदैन । जीवनमा स्वाबलम्बन प्राप्त गर्नको लागि हामीले आफूले आफ्नो महत्वको पहिचान गर्न सक्नुपर्छ । मनमा हिन भावनाको विकास हुन दिनुहुँदैन । हामीले आफूले आफूलाई कमजोर सम्झियौँ भने हाम्रो स्थिति डामाडोल हुन जान्छ । हामी कुनै पनि परिस्थितिसँग भयभित हुनुहुँदैन । निरन्तर आस्थावान् भएर आफूप्रति विश्वास गर्नाले नै हामी सेल्फ मेड मैन बन्न सक्छौँ । नराम्रो परिस्थितिमा पनि डटेर सामना गराँै, असफलतामा पनि अरुलाई दोष नदिइ आफ्नै गल्ती खोजेर त्यसलाई सुधार गरेर बारम्बार असफताको बाबजुत पनि निरन्तर प्रयास जारी राखौँ, तब मात्र हामी स्वाबलम्वी बन्न सक्छौँ । हामी हाम्रा अग्रजहरू भक्ति थापा, बलभद्र कुवर, अमरसिह थापाहरूबाट पनि स्वाबलम्बनको पाठ सिक्न सक्छौँ, जो आफ्नो भरोषाको आडमा आफ्ना सैनिकहरूलाई स्वाबलम्बनको पाठ सिकाउने गर्थे । उनीहरूले एक मुठी पानीको भरमा हजारौँ तोप र गोलीहरूसगैँ अगें्रजहरूसँग लडेर अन्त्यमा बिजय हासिल गरी नेपाललाइ विश्वसामु चिनाए । जति हामी अरुको साहारा लिन खोज्छौँ, धोका खाने सम्भावना पनि त्यति नै अधिक हुन जान्छ । हामीले यो बुझ्न जरुरी छ, हामीले अरुको काँधमा रहेको बन्दुकलाई चलाउने प्रयास गर्यौँ भने पक्कै पनि त्यसको परिणाम राम्रो हुँदैन । स्वाबलम्बी व्यक्तिको अनुहारमा नै छुट्टै तेज हुन्छ, उसमा आत्मविश्वास चम्किएको हुन्छ र उ साधारण व्यक्तिहरूको भिडमा पृथक हुन्छ । हामी हाम्रो इतिहासको पानालाई पल्टाएर हेरौँ, त्यहाँ हामी स्वावलम्बी व्यक्तिहरूको सम्मान भएको पाउछौँ न कि परजीवीहरूको । स्वावलम्बी मानिसको जीवनमा अस्तव्यस्तता कतै देखिँदैन । उसका हरेक कार्यहरू सुनियोजित, सुव्यवस्थित र सुविचारित हुन्छन् । उ हरेक काम गर्नुअघि स्वयंम् विचार गर्छ र व्यवस्थित तवरले योजना बनाउँछ । उ हरेक कार्यप्रति बचनबद्घ हुन्छ र उ अन्त्यसम्म पनि यसको पालन गर्छ, उसको बिबेक नै सकंटको समयमा मार्गदर्शन बन्छ । अनुशासन उसको जीवनको पूँजी बनेको हुन्छ । उसको जीवन सरल हुन्छ तर वैचारिक धरातल उच्च श्रेणीको रहेको हुन्छ । सबैलाई प्रेम गर्नु उसको विशेष गुण हुन्छ । उ कसैलाई गलत सल्लाह दिँदैन बल्कि आफ्नो कार्यबाट अरुलाई स्वावलम्बनको पाठ सिकाएर उदाहरणको रुपमा प्रस्तुत हुन्छ । यसरी स्वावलम्बी व्यक्तिले अरुलाई पंक्षीका साना–साना बच्चालाई जस्तै गरी आफ्नो सम्पर्कमा आउने व्यक्तिलाई आफ्नो हातमा राखेर उड्न सिकाउछ र योग्य बनाई उसलाई खुला आकाशमा छाडी दिन्छ । हामी सबैले परजीवितालाई त्यागेर स्वावलम्बी बन्ने प्रयास गर्नु जरुरी छ, यो नै सफलताको अचुक मन्त्र हो ।
दमक–१४, झापा

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives