Featured Photos
Recent News

सम्बन्ध विच्छेद र यसका प्रभाव

श्रीमान श्रीमती बीचको सम्बन्ध बिच्छेद नेपाली समाजको करिब र करिब नयाँ अभ्यास हो । एकपटक कसैकी श्रीमती भइसकेकी नेपाली युवती लोग्नेसँग सम्बन्ध बिच्छेद गर्ने कुरो कल्पना समेत गर्न सक्दैनथे । केहि वर्ष अघिसम्म नेपाली गाउँघरमा कसैको सम्बन्ध बिच्छेदको एउटा खबर पनि कयौं दिनको चर्चाको विषय बन्दथ्यो । ठूलो यातना र अपमान सहेर भएपनि श्रीमती आफ्नो श्रीमानबाट अलग हुने कुरा सोच्दैनथे । नेपाली समाज पितृ सत्तात्मक भएको कारण पनि यो एकपारको रितिथिति चलिआएको हो । त्यहीँ माथि हिन्दू समाजमा सम्बन्ध बिच्छेदको कुरा मृत्युभन्दा पनि महँगो मानिन्छ । हिन्दू परिवारहरूमा श्रीमानको सेवा गरेर मोक्षको बाटो समात्नु पर्दछ भन्ने पाठ महिलालाई जहिँतहिँ पढाइएको छ ।
तर आजको नेपाली समाजले अर्कै गीतको धुन पकडेको छ । समानताको अभ्यास घर–घरमा हुन थालेको छ । महिलाको आत्मनिर्भरता र निर्णय क्षमता बढिरहेको छ । अपमान सहेर बस्ने कुरा बिस्तारै भुत कालमा परिणत हुँदै गएको छ । श्रीमान र श्रीमानको परिबारले गर्ने होला होचोको ब्यवहारको घरभित्र र घर बाहिर दुबै ठाउँमा आवश्यकता र अवस्था अनुसार विरोध गर्न नेपाली महिलाहरू सक्षम बन्दै गएको संकेत मिल्दछ । परिवारमा श्रीमान र श्रीमतीबीच असमझदारी पैदा भए सँगै बस्न सकिँदैन भन्ने निधोमा पुगेका महिला श्रीमानबाट छुट्टिएर अलग्गै बस्ने वा पारपाचुके गर्नेबारे नहिच्किचाइकन कुराकानी गर्न सक्छन् । यसलाई महिलाको चेतनास्तरमा आएको बृद्धी मान्छन् धेरै पढालिखाहरू ।
पूर्वको पहाडी जिल्ला इलाममा अघिल्लो वर्ष ८५ जोडीले सम्बन्ध बिच्छेद गरेका थिए । त्यसको एक वर्षपछि सम्बन्ध बिच्छेदका घटना बढेर एकसय ४७ वटा पुगे । करिब ८० प्रतिशत माथिको बृद्धि भएको छ इलाममा सम्बन्ध बिच्छेदको । यसले नेपाली समाजको प्रतिनिधित्व पनि गर्दछ ।
सम्बन्ध बिच्छेद पुरापुर राम्रो अभ्यास मानिन्न । तर परिबारमा एकको निर्णय कार्यान्वयनकर्ता मात्र बनेर र अपमान सहेर बस्ने अवस्थाबाट मुक्त हुने कानुनी अभ्यास हो सम्बन्ध बिच्छेद । महिलामा गरिएको शैक्षिक लगानी, रोजगारीमा महिला सहभागितामा आएको बृद्धि, राजनीतिक तथा औपचारिक निकायहरूमा बढ्दो महिला सहभागिता जस्ता तमाम कारणले महिलाको आत्मनिर्णयको क्षमतामा बृद्धि ल्याएको छ । संसार भरिका मानिसहरूले सपनाको रुपमा लिने अमेरिकामा पारिवारिक जीवन करिब–करिब शून्य हुन्छ । सरदर पाँच वर्षको अन्तरमा अमेरिकनहरूले जीबनसाथी बदल्छन् । यसले त्यहाँको पारिवारिक जीवनको चित्र पेश गर्दछ । सम्बन्ध बिच्छेदलाई वैयक्तिक स्वतन्त्रताको अभ्यास पनि मान्ने गरिन्छ । तर हेक्का राख्नै पर्छ, स्वतन्त्रता जिम्मेवारी बोधका साथ आत्मसात गर्नुपर्ने विषय हो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives