Featured Photos
Recent News

चीनको औद्योगिक क्षेत्रमा विस्फोट

बेइजिङ, श्रावण २९ -
चीनको उत्तरी बन्दरगाह सहर तियान्जिनमा बुधबार मध्यराति भएको विस्फोटमा ५० जनाको मृत्यु भएको छ ।
बिनहाई न्यु डेभलपमेन्ट जोनमा खतरनाक रासायनिक पदार्थ राखिएको एक गोदाममा विस्फोट भएको हो । यो एक औद्योगिक दुर्घटना भएको अधिकारीहरूको भनाइ छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार मृतकमा १२ अग्नि नियन्त्रक पनि छन्, ३६ जना बेपत्ता छन् । घटनामा ७ सय १ जना घाइते भएका छन् । तीमध्ये धेरैलाई दुर्घटनाका कारण उछिट्टिएका सिसा र भग्नावशेषबाट चोट लागेको छ । ६६ जनाको अवस्था चिन्ताजनक छ । घटनालगत्तै आगोको ठूलो गोलो केही फिट माथिसम्म देखिएको थियो । घटनास्थलबाट लामो समयसम्म कालो धुवाँ निस्किइरहेको थियो । निर्माण सकेर निर्यातका लागि तयार सयौं कार त्यसमा परेर नष्ट भएका छन् ।  
स्थानीय अस्पताल घाइतेहरूले भरिएका छन् । राजधानी बेइजिङबाट दक्षिण–पश्चिममा पर्ने तियान्जिन चीनको एक मुख्य बन्दरगाह र औद्योगिक नगर हो । राष्ट्रपति सी जिनपिङले दुर्घटनाको कारणबारे अनुसन्धान हुने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त घटनाबाट आफू मर्माहत भएको बताएका छन् । चिनियाँ समकक्षी जिनपिङलाई सन्देश पठाउँदै उनले मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । स्थानीय समयअनुसार बुधबार राति साढे ११ बजे पहिलो विस्फोट भएको थियो । लगत्तै त्यसभन्दा शक्तिशाली विस्फोट भयो । र, शृंखलाबद्ध साना विस्फोट भए । जसका कारण २ किलोमिटर आसपासका भवनका झ्यालहरू बाहिर उछिट्टिएका छन् । ती भवनमा रहेको कार्यालयहरू ध्वस्त भएका छन् । अमेरिकी भौगर्भिक सर्वेका अनुसार धेरै किलोमिटर टाढासम्म विस्फोटको तरंग फैलिएको थियो । शृंखलाबद्ध विस्फोट भूकम्पको धक्काकै रूपमा रेकर्ड भएका छन् ।
पहिलो विस्फोट ३ टन र दोस्रो २१ टन टीएनटी बराबरको रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ । ‘विस्फोटलगत्तै ज्यान बचाउन भाग्नुको विकल्प थिएन, भाग्दै गर्दा पनि रगतपच्छे भएँ,’ प्रत्यक्षदर्शी ३८ वर्षीय वु डेजुनले भने । ट्रक चालक चाओ चेन्चेङको भनाइमा परमाणु बम विस्फोट भएजस्तै दृष्य देखिएको थियो । ‘यस्तो होला भनेर भनेर मैले कहिल्यै सोचेको थिइनँ,’ उनले भने, ‘दृष्य जति भयानक थियो, त्यति नै सुन्दर पनि ।’ आप्रवासी कामदारलाई राखिएको शयन कक्षनजिक विस्फोट भएको थियो । ध्वस्त हुँदै गरेको भवनबाट उनीहरू हतारमा निस्किन सफल भए । आवासीय कामदार डान एगियोका अनुसार सुरक्षित स्थलमा पुग्दानपुग्दा दोस्रो विस्फोट भएको थियो । एक सय ४० दमकलका करिब १ हजार अग्नि नियन्त्रक रातभर घटनास्थलमा खटिएका थिए ।
अस्पतालहरूमा घाइतेका लागि रक्तदान गर्ने स्थानीय बासिन्दाको भीड लागेको छ । खतरनाक र विषाक्त रासायनिक पदार्थको कारोबार गर्ने कम्पनी रुइहाईको गोदाममा विस्फोट भएको हो । उक्त कम्पनीका एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । मुख्य सडक, आवासीय र कार्यालय रहेको क्षेत्रमा विस्फोटक पदार्थ राखिएकामा चीनभर विरोध भएको छ । समुद्रतटको नगर तियान्जिनमा करिब १ करोड ५० लाख जनसंख्या बसोबास गर्छ ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives