Featured Photos
Recent News

जापानमा परमाणु ऊर्जा उत्पादन सुचारु

टोकियो, श्रावण २७ - विरोधका बाबजुद जापानले पुन: परमाणु ऊर्जा उत्पादन सुरु गरेको छ । ४ वर्षअघि भूकम्प र सुनामीका कारण फुकुसिमा दाइ–इची परमाणु केन्द्रबाट रेडियोधर्मी पदार्थ चुहिएपछि ऊर्जा उत्पादन बन्द गरिएको थियो ।
क्युसु इलेक्ट्रिक पावर कम्पनीले आफ्नो सेन्दाई संयन्त्रको रियाक्टर नम्बर १ बाट कन्ट्रोल रड हटाएको छ । यहींबाट परमाणु विखण्डन प्रक्रिया सुरु हुनेछ । जापानभरमा विद्युत् कम्पनीले २५ रियाक्टरहरूलाई सुचारु गर्न चासो देखाएका छन् । तर, उनीहरूले नयाँ कडा सुरक्षा नियम पालना गर्नुपर्नेछ ।
क्युसु कम्पनीले नयाँ सुरक्षा उपकरणका लागि १२ करोड डलर खर्च गरेको छ । कम्पनीका अनुसार सेन्दाईको १ नम्बर रियाक्टरबाट सोमबार स्थानीय समयअनुसार साढे १० बजेबाट काम सुरु गरिएको छ । यस रियाक्टरबाट आगामी शुक्रबारदेखि विद्युत् उत्पादन सुरु हुने र आगामी महिनादेखि यसले पूर्ण क्षमताका साथ काम गर्ने अपेक्षा गरिएको छ ।
जापानी प्रधानमन्त्री सिन्जो आवेले सरकार परमाणु रियाक्टरलाई सुचारु गर्न चाहेको उल्लेख गर्दै संसारकै सबैभन्दा कडा सुरक्षा मापदण्डलाई पूरा गर्ने बताएका छन् । तर, जापानीहरूले भने परमाणु ऊर्जा पुन: सुरु गर्न लागिएकोमा विरोध जनाउँदै आएका छन् ।
सन् २०११ को मार्च ११ मा फुकुसिमामा आएको भूकम्प र सुनामीका कारण दाइ–इची प्लान्टमा नोक्सान भएको थियो । भोलिपल्टै यहाँबाट रेडियोधर्मी पदार्थ चुहिन थालेको थियो । यसलाई सन् १९८६ को चेर्नोबिल संकटपछिकै सबैभन्दा ठूलो परमाणु संकट मानिएको थियो ।
 

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives