Featured Photos
Recent News

अण्डा चोरको अनुभव (बालकथा)

रश्मी तिमल्सिना
देउरालीको खरीबोट भन्ने ठाउँमा हाम्रो सानो घर थियो । घर जस्ताले छाएको थियो । हाम्रो घरलाई वरपरका छिमेकीहरूले माझाघरे जेठाको घर भन्दथे । त्यो माझाघरे जेठा भन्नाले हाम्रो बालाई चिनिन्थ्यो । हाम्रो सानो परिवार थियो । बा, आमा, दाइ, दिदी र मसमेत गरी पाँच जना थियौं । बा सधैं अफिस जानु हुन्थ्यो र राति मात्र घर फर्कनुहुन्थ्यो । बा घर आउँदा त दाइ, दिदी र म खाना खाइवरी मिठो निन्द्रामा हुन्थ्यौं । बा चाँडै आउनुहोला र पापा खाउँला भनेर मनभरी पापाको कल्पना गर्दै मुख रसिलो बनाएर बस्दथ्यौं । तर बा सधैँ राति मात्र घ रआउने हुनाले बाले ल्याउनुहुने पापा हामीले बेलुकी कहिल्यै खान पाएनौं । बासँग हाम्रो भेट बिहान मात्र हुन्थ्यो । त्यो पनि हामी स्कूल जानुभन्दा अगाडि मात्र । हामी आमा पनि लुगा बुन्ने कारखानामा काम गर्नुहुन्थ्यो । आमाले भने सधैँ कामबाट फर्कने क्रममा केही न केही लिएर नै आउनुहुन्थ्यो । त्यसैले आमाको पापाको आशा गरेर दाइ, दिदी र पिँढीको फलैँचामा स्कूलको गृहकार्य सकेर आमाको बाटो हेरी बस्दथ्यौं ।
एक दिनको कुरा हो, आमाले हामी सबैलाई बेलुकीको खानामा उसिनेको अण्डा हाम्रो भातको थाल–थालमा हालिदिनुभयो । त्यो उसिनेको अण्डा देखेर मेरो मुखभरी पानी रसाएर आयो । किनकि अण्डा मलाई एकदम मनपर्ने खानेकुरा थियो । आज त अण्डा र भात खान पाइने भो भनेर म मनमनै दङ्ग परेँ । दाइ, दिदी र खाना खाना थाल्यौँ । थालमा टलक्क टल्केको त्यो अवण्डालाई पहिले नै थालको भात र तरकारी नखाई कप्लक्कै एकै गाँसमा खाइदिएँ । आमाले ‘ए..... अड्केला नि । बिस्तारै खा’ भन्नुभयो । अण्डा त सकिहाल्यो । थालमा यताउति हेरेँ, दिदीले भातसँग आधा अण्डा खाइसक्नुभएको रहेछ । तर दाइले त अण्डा नखाई तरकारी र भात कपाकप खाँदै हुनुहुँदो रहेछ । मैले दाइलाई सोधेँ, ‘दाइ अण्डा किन नखानुभएको ?’ ‘यो तरकारी र भात खाइसकेपछि अन्तिममा खान्छु’ दाइले जवाफ दिनुभयो । आमालाई यो कुरा भन्न पनि सकिनँ । किनकि आमाले सबैलाई बराबर एउटा–एउटा अण्डा भागमा दिनुभएको थियो । फेरि आमाले जहिले पनि लोभी बन्नुहुन्न । ‘लोभले लाभ र लाभले विलाप हुन्छ’ भनेर यो उखान अथ्र्याइरहनुहुन्थ्यो । झलक्क त्यो कुरा सम्झे र आमासँग अर्को अण्डा माग्नलाई लाज लाग्यो । अनि दाइको भागको अण्डा खानलाई निहुँ खोज्न थालेँ । दाइले अझैसम्म पनि अण्डा खानु भएकै थिएन । थालमा अण्डा टलक्क टल्किरहेको थियो । मन भने दाइको भागको अण्डा खानलाई मुख मिठ्याउँदै निहुँ खोज्न जुक्ति सोच्न थालेँ । त्यतिबेला दाइसँग अण्डा माग्न पनि लाज लाग्यो । सायद मागेको भए दाइले सिङ्गो नदिए पनि आधा त पक्कै दिनुहुन्थ्यो । तर माग्ने आँट पटक्कै आएन ।
दाइसँग निहुँ खोज्न थालेँ । मैले निहुँ खोज्नु भनेको नै दाइको भागको अण्डा खानु थियो । ठीक त्यही बेला मैले दाइलाई भनेँ, ‘लौ भन्नुस् त दाइ बाहिर बोक्रो भित्र बोसो, बोसो भित्र सुन के हो ?’ ‘मलाई थाहा छैन’ भनेर दाइले जवाफ दिनुभयो । मैले दाइलाई ‘हे....हे... यति पनि थाहा छैन रे हारुवा .... हारुवा’ भन्दै ढाडमा एक मुड्की हिर्काएँ । ‘म भनुँ त यसको उत्तर’ भनेर सोधेँ । दाइ पनि के कम र ? मलाई किन हानेकी भन्दै एक खोट्टा टाउकोमा बेस्सरी हान्नुभयो । ‘लौ भन त त्यसको उत्तर के हो ?’ दाइको साह्रो हातको खोट्टा खाँदा तिरीमिरी देखेँ । त्यही नै बखत मौका छोपी दाइको थालको अण्डा टपक्क टिपी क्वाप्प मुखमा हालेँ । ‘यी यसको उत्तर यही अण्डा हो त नि !’ भन्दै खाइदिएँ । मैले जे चाहेकी थिएँ, त्यो पूरा भयो । दाइको भागको अण्डा खाइदिएकोमा मैले आफूलाई ठूलै सम्झेँ । ठूलै काम गरेछु भन्ने भान भयो । तर दाइ त अण्डा खान नपाएर रुन पो थाल्नुभयो । दाइको अण्डा झुक्याएर खाएकाले आमाले मलाई गाली गर्नुभयो । दाइलाई ‘नरोउ छोरा म अर्को अण्डा बनाइदिन्छु’ भनेर फकाउन थाल्नुभयो । दाइ सुँक्क–सुँक्क गर्दै थाल थापेर अण्डाको पर्खाईमा बस्नुभयो । दाइले मलाई औंलाले देखाउँदै ‘तँ चोर होस् ! अण्डा चोर होस् ।’ भन्नुभयो । अण्डा त मिठो मानेर खाएको थिएँ तर अण्डा खाएको भन्दा पनि धेरै नमिठो गाली र आरोप पनि खाएँ । त्यसपछि मलाई साह्रै नमजा लागेर आयो । ‘तँ चोर होस् ।’ भनेर सुन्नुपर्दा नराम्ररी मेरो मन दुख्यो । आँखाबाट आँसु झ¥यो तर कसैलाई पनि देखाइनँ । हत्त न पत्त पुछिहालेँ । मेरो खाने इच्छा त पूरा भयो तर त्यो इच्छा पूरा गर्न मैले गलत बाटो रोजेको रहेछु । मलाई एकदमै पछुतो भयो । आमाले पहिले नराम्ररी गाली गर्नु भएपछि मलाई सम्झाउनुभयो । कहिल्यै पनि कुनै पनि चिज झुक्याएर, छलेर लिनु भनेको चोरी गर्नु बराबर हो । बरु खान मन लागे मागेर खानुपर्छ । ‘सियो जस्तो सानो चिज चोरे पनि चोर हो, अण्डा चोरे पनि चोर नै हो र ठूलो चिज चोरे पनि चोर नै हो ।’ भनेर निक्कै बेर सम्झाउनुभयो । कसैको सामान कसैले पनि नदेख्ने गरी नसोधी लियो भने त्यसलाई चोर भनिन्छ भनेर आमाले भन्नुभयो । बल्ल मेरो मनको आँखा खुल्यो ।
मैले अण्डा खानलाई प्रयोग गरेको तरिका गलत रहेछ भनेर बुझेँ । मैले कहिल्यै, कसैको पनि केही चोरेको थिइनँ । आज अण्डाको लोभले म चोर भए भनेर पछुतो मानेँ । दाइकहाँ गएर डराई–डराई माफी मागेँ । आमासँग पनि ‘अबदेखि कहिल्यै पनि त्यस्तो काम गर्दिनँ, कसैसँग पनि झगडा गर्दिनँ । लोभ पनि गर्दिनँ । आफूले आफ्नो भागमा जति पाउँछु, त्यसैमा सन्तोष मान्छु’ भनेर बाचा गरेँ । मेरो कुरा सुनेर आमाले मलाई ‘छोरी’ भनेर काखमा राखी कपाल सुम्सुम्याउनुभयो । आमाको यो न्यानो स्पर्शले मेरो मन तुरुन्तै खुसी भयो ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives