Featured Photos
Recent News

वीपी केमा चुके, केमा चुकेनन् ?

यादव देवकोटा
 आजको दिनमा वीपीमाथि समिक्षात्मक हिसाबमा केही लेख्ने प्रयत्न गर्नु एउटा सानोतिनो जोखिम मोल्नु जस्तो भइसकेको छ । उसैपनि नेपाली समाज जिवित ब्यक्तिको दानवीकरण र मृत व्यक्तिको देवत्वकरणमा सिद्धहस्त छ । वीपीले नेपाली समाजका यी दुवै अतिहरू बेहोरे । बाँचुञ्जेल र मरेपछि पनि ।
फेरि हामीले जीवित वीपीलाई जान्न पाएनौं । म जन्मेको तीन चार वर्षपछि नै बितिसकेका वीपीलाई पढेर र उहाँसँग संगत गरेकाहरूलाई सुनेर वीपीलाई जान्न सकियो अलिअलि । हामीभन्दा पछिको पुस्ताले या त मानिसहरूको रे मा या त लेख, पुस्तकहरूबाट वीपीलाई जान्लान् ।
वीपी बि.सं. १९७१ भदौ २४ मा जन्मिए । गएको वर्ष वीपीको जन्म शताब्दी पनि मनाईएको थियो । राणाशासनबिरुद्ध जुधेका पिताजी कृष्णप्रसाद कोइराला र दिव्यकुमारीका माइला पुत्र विशेश्वर प्रसाद कोइराला कालान्तरमा नेपाली राजनीति र साहित्य लेखनमा एउटा सशक्त हस्तक्षेपकारी व्यक्तित्वका साथ उपस्थित भए । उपन्यासै ६ वटा लेखेः तीनघुम्ती, सुम्निमा, नरेन्द्र दाई, मोदि आइन्, हिटलर र यहुदी, बाबु, आमा र छोरा । दुईवटा कथासंग्रह निस्कियोस् दोषी चश्मा र श्वैतभैरवी । आफ्नो कथामा जीवनी लेखे । मलाई उनको आफ्नो कथाले निकै तानेको छ । उनको देहन्तपछि निस्कियो आत्मबृतान्त, जेल जर्नल र फेरि सुन्दरीजल । 

सन्दर्भ: आज १०१ औ वीपी जन्मजयन्ती

साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो सग्लो छवि र धार बनाए । आजपनि वीपीलाई आदर्श मानेर उनको लेखन धार समातेर पछि लाग्ने नयाँ नयाँ लेखकहरूको कमी छैन । कतिपयले उनको लेखनलाई अराजकतावादी धारबाट संक्रमित भनेपनि त्यतिबेलाको नेपाली समाजको चेतनाको स्तरबाट तयस्तो टिप्पणी आएझैं लाग्छ । राजनीतिमा भने वीपी निकै विवादित पात्रका रुपमा पढिन्छन्, साहित्यमा भन्दा ।
वीपी देशमा शताब्दी भन्दा बढी समयदेखि बहिरहेको निरंकुशताको कालो खोलाको धार फेरिदिने आन्दोलनको अगुवा बन्छन् । मानिसहरू सत्ताबाहिर रहँदा क्रान्ति, परिवर्तन र विप्लवका चर्का कुरा गर्छन् र सत्तामा पुगेपछि लज्जावती झारझैं लल्याकलुलुक भएर बाहिरिन्छन् । वीपी नेतृत्वको सरकारले २०१५ को चुनावी घोषणापत्रलाई सरकारमा पुगेर भटाभट कार्यन्वयन गर्न थाल्यो ।
सम्भवत जनताको छोराले सत्तामा बसेर गरिएको सबैभन्दा वैधानिक क्रान्ति वीपी नेतृत्वको सरकारले गरेको बिर्ता प्रथा खारेज, राज्य रजौटा उन्मूलन लगायत थियो । २०१६ पौष १९ मा विर्ता उन्मुलन भएको घोषणा गरियो । राणाकालीन शोषणको सबैभन्दा बलियो जग विर्ता प्रथामाथि वीपी सरकारले क्रान्तिकारी हस्तक्षेप र्गयो बैधानिक रुपमा । देशको कृषियोग्य भूमिको करिब ३६ प्रतिशत विर्तावालहरूको अधिनमा थियो । तराईमा वीरशम्शेर, चन्द्र शम्शेर, भीम शम्शेरको परिवारको नाममा मात्रै ३, ६३, ३६९ बिगाहा जमिन विर्ताको रुपमा थियो । ठूला विर्तावालहरू सरकारलाई कर नबुझाई मोहीबाट प्राप्त कुतले ऐश आरामको जिन्दगी चलाइरहेको थिए ।
आजको दिनमा आफ्नो एकइञ्ची स्वार्थमा दखल पुग्नासाथ प्रलय मच्चाउने सामन्त, जमिनदार, विर्तावालहरूले उतिबेला वीपीको कदम बिरुद्ध कति आगो ओकले होला ? राजालाई विर्ता खारेजबिरुद्ध विन्तिपत्र चढाए । ठाउँ–ठाउँमा सडक प्रदर्शन गरे । तर वीपीले ‘हावा, पानी घाम र भूमिमाथि त्यसको अधिकार हुन्छ, जो त्यसको भोगचलन गर्छन् । भूमिमाथि जोत्ने किसानको हक हुनुपर्छ । जबसम्म जोत्ने किसानको हक जग्गामाथि हुँदैन तबसम्म मलाई सन्तोष छैन (डा. सुर्यमणि अधिकारी, नेपाली कांग्रेसको इतिहास)’ भनेर विर्तावालहरूको सामना गरे । आज गरिखाने किसानहरूलाई एकधुर जमिन दिने बिषयमा वीपीले खोल्नुभएको र लडेर जोगाउनुभएको पार्टी नेपाली कांग्रेसका नेताहरू सबैभन्दा बढी बिरोधीका रुपमा उभिन्छन् । वीपीका सपना र आर्दशहरूलाई टुकुचमा फालेर वीपी हिँडेको बाटोमा पदयात्रा गर्ने आडम्बरी भक्तिभाव देखाउँछन् वीपीप्रति जसरी वामपन्थीहरू माक्र्सका फोटो टाँसेर खोलिएका पार्टी कार्यालयहरूमा बसेर सामन्तहरूको जस्तो जिविका चलाउँछन् ।
वीपी सरकारले चितवनमा १८, ५२२ सुकुम्वासी परिवारलाई पुर्नवास गरायो । आज हामीले दश बर्षसम्म लडेर सत्तामा पु¥याएका नेताहरूले सुकुम्वासीलाई बर्षे झरीमा पुलिस र डोजर लगाएर खोलातिरको झुपडीबाट निर्दयतापूर्वक लघारेको आफैंले देख्यौं ।
वीपी सरकारको निर्णय ऐतिहासिक घटना थियो गरिखाने नेपाली किसानहरूको इतिहासमा । भव्य र शानदार क्रान्तिकारी कदम थियो । मुखले हैन, सत्तामा गएर, आन्दोलनबाट सत्तामा पुगेकाहरूले आजसम्म गरेको सबैभन्दा क्रान्तिकारी र सर्बहारा, किसान पक्षीय विप्लव थियो । बैधानिक विप्लव । त्यसपछि २०६४ जेठको १४ गते राती जननिर्वाचित संविधानसभाले मात्रै त्यस्तो क्रान्तिकारी घोषणा गर्न सकेको छ–देशलाई गणतन्त्रमा लैजाने घोषणा ।
२०६४ को फैसलाभन्दा ज्यादा जोखिम २०१६ को विर्ता उन्मुलन प्रकरणमा वीपीले स्वीकारेका थिए । राणाहरूले आफ्नो सत्ता टिकाउन प्रभावशाली व्यक्तिहरूलाई विर्ताको रुपमा दिइएको वनजंगललाई वीपी सरकारले राष्ट्रियकरण ग¥यो । त्यतिन्जेलसम्म पनि देशमा थुप्रै राज्य र रजौटाहरू थिए । मुस्ताङ्ग, गल्कोट, जाजरकोट, सल्यान, प्यूठान, दुल्लु, दर्ना, बाजुरा, बझाङ्ग जस्ता राज्य रजौटाहरूको आङ्खनै अदालत, माल र प्रहरीसमेत थियो । देशभित्रै थुप्रै समानान्तर राज्यहरू अस्तित्वमा थिए । रैतीलाई शोषण गर्थे । बच्चा जन्मिदा, बिहेमा समेत शासकलाई नजाराना चढाउनु पथ्र्यो । वीपी सरकारले २०१७ जेठ १ मा दुल्लु राज्य अदालतसहित गुल्मी जाजरकोट, दाङ्ग, बझाङ्ग, फलावाङ्ग, गलकोट राज्य अदालत र गह्रौंकोट कचहरी खारेज गरि इलाका अदालत गठन ग¥यो । यसको विरोधमा उत्रिएका बझाङ्गी राजाको वीपी सरकारले दृढतापूर्वक सामना ग¥यो । महेन्द्र कुनै न कुनै बहानामा जननिर्वाचित सरकारलाई फालेर सत्ताको एकाधिकार आफ्नो हातमा लिन चाहान्थे । वीपीको विर्ता, राज्य रजौटा खारेज लगायतका निर्णयबाट चिढिएका सामन्तहरूलाई हातमा लिए । ठाउँ–ठाउँमा तिनै बिर्तावालहरूमार्फत सभा गराए र त्यसैको जगमा सैनिक ‘कु’ गरेर जननिर्वाचित प्रधानमन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाए ।
आठ बर्ष जेल र आठ बर्ष प्रवास गरेर १६ वर्ष बिताएपछि वीपी २०३३ पुष १६ मा राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्कन्छन् र फेरि जेल पर्छन् । उप्रान्त एकजना उच्चतम देशभक्त, नैतिक राजनीतिज्ञको जीवन ब्यतित गर्छन् । जीवनका सारा भोगाई, दुखसुख, मानअपमानले वीपी निकै फरक विन्दुमा उभिन्छन् २०३३ पछि । निर्विविवाद एउटा दृढ निश्चयी, एकालयको राजनीतिमा सर्मपित गर्छन् आफुलाई क्यान्सरले समात्दासमेत । तर समग्रमा वीपीको जीवन उनैले लेखेको प्रख्यात कृति तीनघुम्तीकी पात्र इन्द्रमायाले जीवनमा बेहोरेको अनगिन्ती घुम्तीजस्तो लाग्छ । आज केही मानिसहरू वीपीलाई महामानव भन्न रुचाउँछन् । वीपी कमजोरीहरूबाट मुक्त मानिस थिए जसरी ब्याख्या गर्न खोज्छन्, जुनकुरामा वीपीले कहिल्यै विश्वास गर्नुभएन ।
वीपीलाई पढ्दा विपिमा थुप्रै बिरोधाभाषहरू पाइन्छन् । नेपाली कांग्रेसको नाम राख्ने प्रकरणदेखि नै वीपी विवादमा तानिन्छन् । उनका साथीहरू पार्टीको नाम प्रजापरिषद नै कायम राख्न जोड गर्छन् । खासगरि गणेशमान सिंहहरू । विपि भन्छन् –‘अरु जे राखे पनि हुन्छ तर कंग्रेस चाँहि जोड्नै पर्छ । गान्धी, नेहरू जस्ता भारतीय नेताहरूको समर्थन हासिल गर्न पनि कंग्रेस राख्नै पर्छ (नेपालमा प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, राजेश गौतम) ।’
वीपीले प्रवासमा रहेका नेपालीलाई एकजुट भएर राणाबिरोधी आन्दोलनमा लाग्न र संगठित हुन अपिल गर्छन् । वि.सं. २००३ कार्तिक १५ गते देवीप्रसाद सापकोटालाई सभापति र कृष्णप्रसाद भट्टराईलाई महासचिव बनाएर ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ स्थापना हुन्छ । बिरामी सापकोटालाई सभापति थपना गरेर विपि त्यसको संयोजक बन्छन् । २००३ माघ १२ र १३ मा कलकत्ताको भवानीपूरस्थित खाल्सा हाइस्कूलमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको महाधिबेशन आयोजना हुन्छ । राममनोहर लोहिया लगायत समाजवादी नेताहरू शुभकामना दिन आउँछन् । उद्घाटन सत्रमा भारतको तिरंगा झण्डा फहराइन्छ । गणेशमान विरोधमा उत्रन्छन् । नेपाल स्वतन्त्र राष्ट्र हो भन्दै अखिल भारतीय भन्ने शब्द पार्टीको नामबाट हटाउन पर्ने माग राख्छन् । झण्डाको बिरोध गर्छन् । वीपी समारोह सभापतिको हैसियतले दोस्रो चरणको अन्तिम कार्यक्रमलाई सम्बोधन गर्दै भन्छन्–‘वास्तबमा नेपाल र भारत दुई देश हैनन् । के जातीय दृष्टिले, के आर्थिक दृष्टिले, के धार्मिक दृष्टिले, सबै दृष्टिले नेपाल भारतवर्षकै एउटा प्रमुख अंग हो । नेपाललाई भारतबाट भिन्न घोषित गर्नमा केवल ब्रिटिश साम्राज्यवादको मात्र लाभ छैन, बरु यसैमा राणाहरूको अस्तित्व समेत कायम छ । यसको मुलमा कुटनीतिक र स्वार्थी राजनीतिज्ञहरूको चालवाजी मात्र छ । नेपाल स्वतन्त्र भन्नु गलत हो (राजेश गौतम, नेपालमा प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस) ।’
फेरि पनि गणेशमान विरोधमा उभिन्छन् । उनलाई सूर्यबहादुर भारद्वाज, सुन्दरराज चालिसे, डिबी परियारले साथ दिन्छन् । विवाद बढेपछि नेपाल स्वतन्त्र छ छैन भन्ने कुरा राणाशाही खत्तम भएपछि जनमत संग्रह गरि निर्णय गर्ने प्रस्ताब गरिन्छ । तर गणेशमानहरूको तिव्र विरोधका कारण आफ्नो भनाई फिर्ता लिँदै नेपाल स्वतन्त्र नै छ भन्ने कुरा स्वीकार्छन् वीपी । तिनै वीपी राणा शासन ढलेर गृहमन्त्री भएको बेला भारतीय राजदुतलाई खुला विज्ञप्ति जारी गरेर चुनौती दिन्छन् –‘राजदुतले आफुलाई यहाँ बसेर हिन्दुस्तानको डिस्ट्रिक्ट बोर्डको चेयरमेनजस्तो ठान्नुहुँदैन ।’ एकातिर त्यसरी विज्ञप्ति जारी गर्छन् अर्काेतिर मोहन शम्शेर नेतृत्वको सरकारको सेक्रेटारियट गठनको काममा सघाउन भारतीय सहयोग भित्र्याउँछन् । आत्मबृतान्तमा उनी भन्छन् –सेक्रेटारियट गठनको काममा सहयोग गर्न हिन्दुस्थानबाट हामीले दुईतीन जना बोलायौं । तर त्यो काम ठीक ग¥यौं कि बेठीक त्यो त इतिहासले बताउला ।’
उनी विदेशीसँग पैसा माग्छन्, हतियार माग्छन् नेपालको क्रान्तिको लागि । वीपीको त्यही सिप सिकेर पछि पुष्पकमल दाहालहरू निवेदन लेखिलेखि भारतमा आश्रय लिन्छन् र नेपालमा हामीलाई लडाउँछन् । वीपी भन्छन् –अरुको शर्त नमानी सहयोग लिन सकिन्छ । तर यो दुनियाँमा शर्त नराखी, विनास्वार्थ जोखिम मोलेर एउटा देशको विद्रोहीलाई कसले पो हतियार देला र ? २०१७ को कु पछि आठ बर्ष जेल बसेर भारत जान्छन् उनी । भारतीय विशेष पासपोर्ट बोकेर एउटा सार्वभौम मुलुकको भूतपूर्व प्रधानमन्त्री यूरोप भ्रमणमा निस्कन्छन् । बेल्जियमको एउटा होटलमा महिनादिनसम्म बसेर बेलायतकोे भिषा कुरिरहन्छन् । बडो अपमानपूर्वक । जहाँ जहाँ पुग्छन्, पैसा र हतियार माग्छन्, देशको अस्मिताको समेत ख्याल नगरेर । मलाई लाग्छ वीपी ती कुराहरूमा चुकेका छन् । आफैंलाई उनले घरिघरि प्रश्न पनि गरेका छन् –मैले यो ठीक गरें कि बेठीक गरें भनेर ।
जेलमा बस्दा र भारतमा बस्दा पनि उनी भारतले आफ्नो आन्दोलनमा सरसहयोग गरिदेओस् भन्ने चाहन्छन् । २००७ को दिल्ली सम्झौता मार्फत वीपी, दरवार र राणाहरूले नेपाली राजनीतिमा खुलेआम निम्त्याएको भारतीय सक्रियताबाट आज देश शिथिल बनिसकेको छ । उनी अनिच्छापूर्वक भएपनि दिल्लीलाई स्विकार्छन् । नकार्दैनन् । इन्दिरा गान्धीसँग बोलचालै बन्द भएर भारतमा निकै नै अपमानित हुन थालेपछि नेपाल फर्कन्छन् राष्ट्रिय मेलमिलापको नीति लिएर । उनको मेलमिलापको नीतिमा देशलाई निरंकुशताको प्रयोगशाला बनाउने दरवार मात्रै देखिन्छ । महेन्द्रले कु गर्न लाग्दा, वीपीकै दाजु मात्रिकाले वीपीबिरुद्ध अभियान चलाउँदा विर्नाशर्त वीपीको समर्थन गरेका कम्युनिष्टप्रति आश्चर्यजनक तवरमा उनको मनमा रहेको आग्रह जीवनपर्यन्त कायम रह्यो र त्यही नकारात्मक आग्रहले देशमा निरंकुशताको आयु लामो बनेर अडियो । वीपीले कम्युनिष्टहरूविरुद्ध राखेको आग्रहको सिरानी हालेर आजपर्यन्त खुम बहादुर खड्काहरू कम्युनिष्टहरूको विरोधमा छन् । वीपीले रोपेको वामपन्थीहरूविरुद्धको मनोमालिन्यको चेतनालाई गणेशमानले सहजतामा बदले र दाजुको ‘स्कूल’ मा पठित भएर कुनै समय माले मण्डले र मशाले एकै हुन् भन्ने गिरिजाप्रसादले निकै नै असाधारण तवरले त्यो दुरीलाई घटाउने भूमिका खेले । जबजब कांग्रेस र कम्युनिष्ट मिले पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो । मिलेनन् दरवार बलियो भयो, जनमतसंग्रहमा पञ्चायतले जित्यो ।
वीपी सशस्त्र संघर्षमा पार्टीलाई होम्न समेत डराउँदैनन् । हिंसालाई उनी सापेक्षतामा स्विकार गर्छन् । अनिवार्यताको हदसम्मको हिंसालाई स्विकार्छन् । उनी लेख्छन् पनि जेल जर्नलमा–‘कुनै आर्दशका खातिर जानीजानी कसैले मृत्युलाई अंगीकार गर्छ भने त्यस्तो मृत्युमा हिंसा रहँदैन, केवल वलिदान रहन्छ ।’ पार्टीले आफ्नो पल्टन राख्नुपर्ने विश्वासमा वीपी धेरै पछिसम्म अडिन्छन् । आम जनतालाई अमेरिकामा जस्तो हतियार राख्न दिनुपर्ने कुराको उनी वकालत गर्छन् । नागरिकलाई स्वीट्जरलैण्ड, इजरायलमा जस्तो शैन्य तालिम दिने र मास मिलिसिया बनाउने धारणा राख्छन् वीपी । वीपीको समय र अहिलेको समयमा हाम्रो सेनाको स्तर, छिमेकीको हामीप्रतिको रबैया कति फेरियो यसको पनि मूल्यांकन होला । तर एउटा निश्चित नियमित फौजले लडेर हाम्रो देश जोगिनेवाला छैन । वीपीले उहिल्यै सोचिसकेको विषय अहिले संविधानसभामा आउँदा वीपीको फोटो भएको लकेट छात्तिमा टाँसेर हिँड्ने वीपीका अनुयायीहरू घोर विरोधमा उत्रिएका छन् । मिलिसियाको त के कुरा, आज जोत्नेलाई जमिन दिने कुराको सबैभन्दा बिरोधीको रुपमा वीपीहरूले नै जन्माए, हुर्काएको पार्टी नेपाली कांग्रेस बनेको छ ।
धेरैपछिसम्म पनि वीपीलाई नेपालको शाही सेनाप्रति गुनासो रहिरहन्छ । त्यो सधैं अभिजातहरूको पक्षमा उभिएको वीपीले देखे, भोगेका थिए । वीपी सुन्दरीजलको बन्दीगृहमा थक्थकाउँछन् मुक्ति सेना विघटन गरिएकोमा । जेलजर्नलको पृष्ठ १५६, १५७ मा वीपी थक्थकाउँछन् –‘अक्षम्य भूल यही भयो कि पल्टनपट्टी हामीले ध्यान दिएनौं ।’ सेनालाई सिंहदरबाट झिकेर नारायणहिटीमा राख्ने निणर्यले पनि वीपीलाई पछिसम्म पछुतो भइरह्यो । आत्मबृतन्तमा लेख्छन् –मेरो अज्ञान ! त्यसदिनदेखि राजाको हात माथि प¥यो र प्रजातन्त्रको हात तल । त्यो पल्टन हातमा आउने बित्तिकै देखि राजाको प्रवृत्ति अर्कै भयो । त्यसदिनदेखि राजा बलिया भए ।
घोडा चढ्ने मान्छे लड्छ । जमीनमा घुँडा टेकेर बस्ने मान्छे कहिले पनि लड्दैन भनेर पिताजी कृष्ण प्रसाद कोइरालाबाट ज्ञान पाएका वीपी जीवनका उतारचढावबाट हरेस खाँदैनन् । कमजोरी र गल्तीबाट सिक्छन् र २०३३ पछि एकजना सच्चा देशभक्त र कर्मठ राजनीतिज्ञको रुपमा आफूलाई उभ्याउँछन् । अहिले वीपीले जीवनमा अपनाएको निष्ठा, विचार र प्रतिज्ञाको एउटा छेउपनि भेउ नपाउने कांग्रेसीहरू फलाक्छन् महामानव वीपी कोइराला । वीपीले जीवनभर विभेदहरूको विरुद्ध लडे । सामन्तवादविरुद्ध लडे । तर अहिले केही मानिसहरू वीपीलाई महामानव भनेर बाँकी मानिसलाई झुर करार गर्ने दुःख बेसाउने रहरमा लागेका छन् । केही मानिसलाई महाराजा, महानायक, महामानव, महासन्त भनेर बाँकी मानिसभन्दा माथि देखाउने र हियाउने काम सामन्ती चेतनाको उत्कृष्ट स्वरुप हो । जसको विरुद्ध वीपी आफैंले लडे ।
वीपी निश्चित योग्यता र कमजोरी सहित उभिएका मानिस थिए । उनमा स्वाभावगत मानवीय कमजोरी र विशेषताहरू थिए । आशा र निराशा दुवैले चुमेका मानिस थिए । असल र खराबको बाटोबाट गुज्रिएका मानिस थिए, जसले सुख र दुखलाई अरुले जस्तै अनिवार्य घटनाको रुपमा जीवनमा स्वीकार गरे । उनी थुप्रै आंकाक्षाहरू पाल्छन् मनमा, ती हुर्कन पाउँदैनन् । योजना बनाउँछन्, सफल हुँदैन । सोच्दैनसोचेका घटनाहरूबाट गुज्रिनुपर्छ उनले । हो उनी लाखौंलाख मानिसहरूको भीडमा प्रष्ट देखिने मानिस थिए । युद्धमा लागेर लडेका, मरेका, संघ्रर्ष गरेका हजारौं मानिसहरूको योगदानको बलमा सबैले देख्ने गरि उभिएका छन् वीपी ।
जेलमा तरकारी नमिठो भएको कुराले पनि वीपीलाई दुखाउँछ । उनी वजिरहेको रेडियोप्रति पनि क्रोधित हुन्छन् र फुटाईदिउँ जस्तो लाग्छ । बारम्वार धोका दिने राजाप्रति पासविक प्रतिहिंसाको क्रोधित तरंगले मनलाई सिञ्चित गराउँछन् । सुखदुख, मर्यादाअमर्यादा खेपेर नै मानिस दृढ चरित्रको हुन्छ भन्ने विश्वास गर्छन् । जोगाएर राखिएको व्यक्तित्व दह्रो हुँदैन, गमलामा उमारेर उष्णगृहमा राखिएको बिरुवाजस्तो हुन्छ भन्ने विश्वासमा स्वयं वीपी अडिन्छन् ।

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives