Featured Photos
Recent News

समावे‌शी तीज पर्व आजको‌ आवश्यकता

ओमप्रकाश गौतम
पर्सी यानेकि हरितालिका तीज पर्व । महिलाहरूको महान पर्व । दिदी, बहिनी एकै ठाउँ भेला भएर दुःख, सुख बाँड्ने दिन पनि हो, यो । जीवनभरी दुःख र सुखका अनेक अनुभूतिहरूलाई संगालेर गृहिणी जीवनलाई आत्मसाथ गरेर सासु र ससुराको टोकसोलाई बिर्सिदिएर, मनभित्रका हाँसो र उमङ्ग भर्ने दिन पनि हो, हरितालिका तीज पर्व ।
यसपालिको तीज पर्व २०७१ सालको पर्वभन्दा अहिले बेग्लै पहिचान बोकेर आएको छ । २०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पको असर अनि त्यसैको परिणामले हजारौं–हजार नेपालीहरूको दुःखद मृत्युको घटनाले गर्दा पनि यसपटक २ महिना अगावै नेपाली नारीहरूले तडक–भडकका साथ तीज पर्वमा रौनक ल्याएनन् । महाभूकम्पको त्रासदीले गर्दा मानव जीवनमा हर्ष र उमङ्ग जे जति भरिदिनुपर्ने थियो, त्यो भने यसपटक हुनै सकेन । महाविपत्तिको त्रासदी सेलाउन नपाउँदै राजनीतिभित्र आरोह, अवरोह दिनानुदिन अकल्पनीय हुँदै गएपछि त झनै नेपाली दिदीबहिनी दुःखी भएका छन् ।
त्यो पीडा महिलाहरूमा मात्र होइन, पुरुष वर्गहरूमा पनि ज्यूँका त्यूँ नै छ । महाविपत्ति र राजनीतिक माहौलमा देखिएको अराजकताको पीडाले गर्दा नेपाली नारीहरू प्रताडित भएका छन् । कतिको चुरा फुट्यो, कतिको सिन्दुर पुछियो, यस्तै–यस्तै सन्त्रास अनि सन्तापले गर्दा यसपालिको तीज पर्व आम जनताहरूबीच खुसी साट्न नसकिरहेको अवस्था छ । तर जे होस्, जसो–तसो चल्दै जाओस् जे भए पनि हाम्रो महान चाड हरितालिका तीज पर्व विशेष २०७२ ले तपाई हामी माइतीहरूलाई चेलीहरूले सुख दुःख चाँहि अवश्य बाँड्ने छन्, त्यसमा हामी सम्पूर्ण माइतीहरूको सहयोग र समर्थन चाँहि आवश्यक छ । यस पर्वको गाम्भीर्यता बुझेर हाम्रा दिदी, बहिनी तडक–भडक नगरी ‘समावेशी’ रुपमा यो पर्व मनाउनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं र रहिरहनेछौं यसमा कुनै दुई मतै छैन । 
विशेषतः यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै परम्परादेखि निराहार व्रत बसेर मनाउँछन् । समयसँगै संस्कार र संस्कृतिमा पूरै परिवर्तन हुँदै आएको छ । हिजो जुन संस्कार र परिधिभित्र रहेर हाम्रा दिदीबहिनीहरूले यो पर्व मनाउँदै आएका थिए । अहिले त्यो पूर्ण रुप बदलिँदै–बदलिँदै आएका थिए । ‘हुँदा खाने र हुने खाने’ बीचको विभेद सृजना हिजो पनि थियो, अहिले पनि विद्यमान छ । हिजोका दिनमा मन्दिर–मन्दिर अनि शीतल चौतारी बर अनि पिपलको बोटमा गएर दिदी, बहिनीहरू एक आपसमा तीजको गीत गाएर नाच्ने गाउने गर्थे । हिजो आज परिवर्तित भएर त्यो संस्कार र संस्कृति अकस्मात बदलिन पुगेको छ । अहिले त्यो संस्कार महङ्गा–महङ्गा होटल र डिस्कोमा नाचगान गरेर तीज पर्व धनाढ्य नारी वगहरू मनाउन थालिसकेको अवस्था छ । गाउँ समाजमा बसेका न्यून आय आर्जन भएका दिदीबहिनीहरूलाई श्रृङ्गारका सामग्री र सुनचाँदी, गरगहना, महङ्गा–महङ्गा सारी, चोली लगाएर डिस्को धाउने परम्पराले गाउँ घरमा पढेका, हुर्केका दिदी बहिनीहरूलाई यो पर्वले विभेद गरिदिएको छ, कारण नारी असमानता र विभेद नै हो ।
यही बेमेलले गर्दाआज परम्परादेखि चल्दै मनाउँदै आएको हामी सबैको मौलिक पर्व तजि दिनानुदिन भड्किँदै आएको छ । गाँस, बास र कपासको खोजीमा आफ्ना सन्ततिलाई स्वदेशमै छोडेर विदेश गएका लाखौं लाख नारी, पुरुषहरूले मुग्लानबाट पठाइदिएको रकम एकै दिनमा स्वाहा बनाइदिएको घटना प्रेस मिडियामा दिनका दिन छाँपिदै आएको छ । तापनि कुनै निकाय पनि यसबारेमा खबरभित्र बेखबर छ । जुवा, तास, मदिरा सेवनमा लठ्ठिएर आफ्नो मौलिक पर्वलाई धुँवामा उडाउँदै पश्चिमी संस्कृतिको नक्कल गर्दै आफूभन्दा ठूला व्यक्तिको मान अनि मर्दनलाई बेवास्ता गर्ने परिपाटी नारी र पुरुषवर्गमा अझै पनि हटेकै छैन । अहिले तीज पर्वकै यो महामेलामा तीज पर्वलाई भड्काउने बेथितिपूर्ण गीत र सङ्गीतले त झनै युवा वर्गहरू दिनानुदिन बिग्रिँदै गएका छन् । सामाजिक सञ्जालदेखि गुगल, यु–ट्युबमा डाउनलोड गरेर देखाइएका वेभसाइटहरूका नग्न गीत तथा संस्कृतिले त झनै बिसङ्गति र विकृति मौलाउँदो अवस्थामा छ । पोहोर सालको तीजको लोकप्रिय गीत ‘मेरो त पिँठ्यूमा बेस्सरी चिलायो, चाया पो प¥यो कि जुम्रा पो स¥यो कि’ भन्ने गीतको बोलकी गायिका श्रीदेवी देवकोटाको स्वरको गीतमा सुष्मा कार्कीले नृत्य गरेकी थिइन् भने यसपटकको लोकप्रिय गीत ‘ढाडे बिरालो’ गीत पनि उनै गायिकाको स्वर र ज्योति मगरको नृत्यले त झनै नेपाली समाजमा तहल्का नै मच्चाइदियो । तत्पश्चात आएका अन्य गीतहरूमा ‘पानी पुरी चटपटे’ र ‘मेरो रुपैले पोखरामा तहल्का मच्चायो’ भन्ने तीज गीतले त युवादेखि वृद्धहरूलाई मनै लोभ्याइदिएको छ र त्यही गीतमा नेपाली नारीहरू नाचिरहेका छन्, गाइरहेका छन् । यो तीज पर्वसँगै आएका गीतका बोलहरू र नृत्यकारले लगाउने पहिरन र प्रस्तुति नै अमिल्दा छन्, जसमा माइती–चेलीबीच एकै ठाउँमा बसेर हेर्न नहुने दृश्यहरू छायाङ्कन गरिएका छन् । आखिर किन यस्तो विकृति बढिरहेको छ त तीज पर्वमा ? आगामी दिनमा गायिका, गीतकार र नृत्याङ्गनाको प्रस्तुति र गीतको बोलमा पनि रुपान्तरित भएर आउनु पर्दछ । प्रेमको पवित्र पर्वका रुपमा रहेको हाम्रो संस्कृतिको एउटा सुन्दर अंश तीज वैभव प्रदर्शनको माध्यम र विलासिताको अवसर आगामी दिनमा नबनोस् । छाडा संस्कृति र भेषभुषा, रीतिरिवाज अनि मौलिकतापनमा परिवर्तित संस्कृतिको पुनरावलोकन हुँदै जाओस् । कुनै दिन गाउँका भीर–पाखा, कुना–कन्दराहरूमा जीवनका दुःख–सुखका आन्दनाभूतिपूर्ण गाइएका गीतहरू शब्द सिर्जनामा आउन सकून् । सामूहिक रुपमा आयोजना गरिएका तीज विशेष कार्यक्रममा लोकगीतका लोक भाकामा सिर्जना गरिएका गीतहरू रेडियो र टेलिभिजनका आवाज अनि पर्दामा गुञ्जिरहून् । आगमी दिनमा यस्तो भड्किलो तीज हाम्रा दिदीबहिनीहरूले परिमार्जित गरेर अघि बढ्न सकून् । नारी सशक्तिकरणको पर्व हरितालिका तीज पर्व बन्न सकोस् । विकृति विसङ्गति र महिला हिंसाको अन्त्य, बालिका अपहरण अनि यौनजन्य गतिविधिको अन्त्य गरी सुनौलो पर्वको तीज बनोस् । पतिको दीर्घायुको कामना निराहार बसेर होइन, भक्तिभावले पतिको सेवा नारी वर्गहरूले गर्दै जान सकून् । संस्कृतिको नाममा विकृतिलाई प्रबद्र्धन गर्ने अभ्यासलाई सदाका लागि अन्त्य गर्दैै तीज पर्वभित्र लुकेको प्रेमको सुन्दर सन्देशलाई सम्मान हुने गरी नेपाली सु–संस्कृतिको हरितालिका तीज पर्व सम्पूर्ण दिदीबहिनीहरूले समावेशी तीज पर्वको रुपमा मनाऔं । तीजको रहर, आउँ बरी लै...........

omgautam817@gmail.com

Share and Enjoy:

0 comments for this post

Leave a reply

We will keep You Updated...
Sign up to receive breaking news
as well as receive other site updates!
Advertisements
Connect us in Facebook
Popular News
Search
Archives